
काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले काठमाडौंस्थित द सोल्टी होटलमा पत्रकार सम्मेलन गरी नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ बारे औपचारिक जानकारी गराएको छ । सञ्चारकर्मी, प्रायोजक तथा साझेदार, प्रदर्शकहरू, नाइमा बोर्ड सदस्यहरू, सदस्य कम्पनीहरू तथा नेपालको अटोमोबाइल र मोबिलिटी क्षेत्रका सरोकारवालाहरूको उल्लेखनीय उपस्थितिमा दोस्रो संस्करणको नाइमा नेपाल मोबिलिटी एक्स्पोबारे सोमबार जानकारी गराइएको हो ।
नाइमा एक्स्पो साउन २६ देखि ३१ सम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी एक्सपोका रूपमा आयोजना हुने यस प्रदर्शनीमा ५१ स्टल, ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च रहनेछन् । एक्सपोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य उत्पादनहरू समेटिनेछन् ।
पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रितु सिंह वैद्यले नाइमा एक वर्षअघि नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरू समेट्ने २१ सदस्य कम्पनीबाट सुरु भएको र हाल ३६ प्रमुख सदस्य कम्पनीमा विस्तार भएको जानकारी दिइन् । उनका अनुसार यो वृद्धि उद्योग क्षेत्रको विश्वास, एकीकृत प्लेटफर्मको आवश्यकता र नेपालको मोबिलिटी क्षेत्रको जिम्मेवार आवाजका रूपमा नाइमाको बढ्दो भूमिकाको प्रतिबिम्ब हो । 
अध्यक्ष वैद्यले नाइमाको दृष्टि ‘इम्पावरिङ ग्रोथ थ्रु मोबिलिटी’ र मिसन ‘मोबिलिटी फर अल’ एक्सपोमा मात्र सीमित नभई मोबिलिटी, पहुँच, रोजगारी, उद्यमशीलता, सार्वजनिक सेवा प्रवाह र आर्थिक वृद्धिसँग जोडिएको नाइमाको समग्र कार्यदिशामा प्रतिबिम्बित भएको बताइन् । उनले मोबिलिटी सुधारिँदा अवसरहरू विस्तार हुने तथा मानिसका गतिविधि र व्यवसाय सहज रूपमा चलायमान हुन सके देश अघि बढ्ने उल्लेख गरिन् ।
उनले गत वर्ष नाइमाले मोबिलिटी क्षेत्रको सुधारका लागि निरन्तर वकालत, पहिलो संस्करणको एक्स्पो सफलतापूर्वक सम्पन्न भएको तथा काठमाडौं उपत्यकाका १ हजार ६१० ट्राफिक प्रहरी कर्मचारीका लागि क्षमता अभिवृद्धि तालिम सहयोग गरिएको बताइन् ।
त्यस्तै हालैका प्रदर्शनका क्रममा गम्भीर क्षति पुगेका कार्यालयहरूको पुनर्निर्माणका लागि आकस्मिक सहयोग, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा यातायात व्यवस्था विभागलाई सहयोगलगायतका महत्वपूर्ण कार्य गरेको पनि जानकारी दिइन् । साथै, नाइमाले सरकारी निकायहरूसँग सहकार्य गर्दै ट्राफिक व्यवस्थापन, सडक सुरक्षा, जनचेतना कार्यक्रम तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा कार्यशालाहरू सञ्चालन गर्दै आएको उनले बताइन् ।
अध्यक्ष वैद्यले नाइमाले नाइमा मोबिलिटी एक्स्पो र नाइमा मोबिलिटी संवाद जस्ता प्रमुख कार्यक्रमहरू संस्थागत गरिसकेको तथा नाइमा मोबिलिटी जर्नल र नाइमा क्यापासिटी बिल्डिङ ट्रेनिङ सेसनहरु सुरु गरिसकेको जानकारी दिइन् ।
त्यस्तै एक्सपोको टिकट आम्दानीको कम्तीमा १० प्रतिशत अनुसन्धान फेलोसिप तथा तालिम पहलका लागि छुट्याइने र सो फेलोसिपमार्फत तयार हुने अनुसन्धान तथा लेखहरू नाइमा मोबिलिटी जर्नलमा प्रकाशित गरिने पनि उनले बताइन् । साथै, नाइमाले आगामी दिनमा नाइमा मोबिलिटी कन्क्लेभ आयोजना गर्ने र विशेषगरी शिक्षा मन्त्रालयसहित नेपाल सरकारसँग सहकार्य गर्दै मोबिलिटी क्षेत्रमा सीप अभिवृद्धि तथा रोजगारी सिर्जनामा केन्द्रित तालिम कार्यक्रमहरू व्यवस्थित गर्ने योजना रहेको पनि उनले उल्लेख गरिन् ।
पत्रकार सम्मेलनमा सदस्य तथा उद्योग सरोकारवालाहरूबाट आएको उच्च मागलाई ध्यानमा राख्दै नाइमाले कमर्सियल मोबिलिटी ब्रान्ड र सम्बन्धित सरोकारवालाहरूलाई लक्षित गरी थप मोबिलिटी एक्सपो आयोजना गर्ने विषयमा पनि विचार गरिरहेको जानकारी दिइएको छ । स्थान अभावका कारण केही इच्छुक सदस्य तथा सरोकारवालाहरूलाई स्टल उपलब्ध गराउन नसकिएकोमा अध्यक्ष वैद्यले दु:ख व्यक्त गर्दै नेपालमा अझ ठूलो र आधुनिक प्रदर्शनी पूर्वाधार आवश्यक रहेको बताइन् ।

त्यस्तै एक्सपोका प्रमुख विशेषताबारे जानकारी दिँदै नाइमा अटो सो प्लानिङ कमिटीका संयोजक गौरव शारडाले गत वर्षको प्रिमियम अनुभवलाई अझ परिस्कृत गर्दै सन् २०२६ को संस्करणलाई थप व्यवस्थित, सहज, समावेशी र आगन्तुकमैत्री बनाइने बताए । उनले यस वर्षको एक्सपोलाई नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको एक महत्वपूर्ण र ऐतिहासिक कार्यक्रम बनाउन नाइमाले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
समिति संयोजक शारडाले मनसुनलाई ध्यानमा राख्दै एक्सपोमा विशेष व्यवस्था गरिएको बताए । उनले शारीरिक रुपमा अशक्तहरुका लागि पनि उपयुक्त हुने गरी प्रदर्शनीस्थलको व्यवस्थापन गरिने जानकारी दिइ । आगन्तुकहरूको सहजताका लागि नेपाल पुलिस क्लबमा पार्किङ सुविधा उपलब्ध हुनेछ ।
पठाओले राइड पार्टनरका रूपमा एक्सपो अवधिभर भृकुटीमण्डप आउने-जाने यात्राका लागि छुटसहितको राइड सेवा उपलब्ध गराउनेछ भने युनियन पेले पार्टनरका रूपमा युनियन पे क्यूआर प्रयोग गरी टिकट खरिद गर्दा क्यासब्याकसुविधा उपलब्ध गराउनेछ ।
यस वर्षको एक्सपोको अर्को प्रमुख आकर्षण नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको अडिटोरियम हलमा लर्निङ सेसनहरु आयोजना हुनेछन् । यी सेसनहरुमा सहभागी हुन कुनै शुल्क तिर्नु पर्दैन । यी सत्रहरू विज्ञ, पेसाकर्मी, शिक्षाविद्, उद्योग नेतृत्व तथा प्रभावशाली व्यक्तित्वहरूको नेतृत्वमा सञ्चालन हुनेछन् । सत्रहरूमा मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप, रोजगारी र नेपालको मोबिलिटी क्षेत्रको भविष्यजस्ता विषय समेटिनेछन् ।
एक्सपोका को-स्पोन्सर ग्लोबल आईएमई बैंकका तर्फबाट डेपुटी प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले नाइमासँग नेपालको सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी एक्सपोमा सहकार्य गर्न पाउँदा बैंक खुसी लागेको बताए । उनले मोबिलिटी, आर्थिक गतिविधि, उद्यमशीलता, रोजगारी र वित्तीय पहुँचबीच गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै नाइमासँग दीर्घकालीन सहकार्यको बलियो सम्भावना रहेको उल्लेख गरे । साथै, एक्सपोमा आगन्तुकहरूका लागि विशेष बैंकिङ तथा वाहन वित्तीय सुविधाहरू उपलब्ध गराइने पनि उनले जानकारी दिए ।
रेड बुल नेपालका तर्फबाट मार्केटिङ प्रमुख श्रय कृष्ण श्रेष्ठले रेड बुल पावर्ड बाई क्याटेगोरीअन्तर्गत बेभरेज पार्टनरका रूपमा नाइमा एक्स्पोसँग आबद्ध हुन पाउँदा खुसी व्यक्त गरे । उनले नाइमाले तालिम, सचेतना अभियान, आकस्मिक सहयोग र क्षेत्र केन्द्रित कार्यक्रमहरू गर्दै आएकोमा प्रशंसा गर्दै एक्सपो अवधिमा रेड बुलले आकर्षक कार्यक्रमहरु प्रस्तुत गर्ने जानकारी दिए ।
नाइमा एक्स्पोलाई ग्लोबल आईएमई बैंकले को-स्पोन्सरका रूपमा र रेड बुलले पावर्ड बाई स्पोन्सरका रुपमा बेभरेज पार्टनरका रूपमा सहयोग गरेका छन् ।
यसैगरी, एक्सपोमा एनएमबी बैंक र सिद्धार्थ बैंक बैंकिङ पार्टनर, सगरमाथा लुम्बिनी इन्स्योरेन्स बिमा पार्टनर, ग्लोबल कलेज अफ म्यानेजमेन्ट एजुकेसन पार्टनर, खल्ती आईएमई लिमिटेड टिकेटिङ पार्टनर, द सोल्टी होटल हस्पिटालिटी पार्टनर, नर्भिक होटल मेडिकल पार्टनर, वर्ल्डलिंक कनेक्टिभिटी पार्टनर, युनियन पे क्यूआर पार्टनर, डिजिटल सोलुसन्स डिजिटल पार्टनर र प्रफिट मिडिया पब्लिकेसन पार्टनरका रूपमा आबद्ध छन् ।
पत्रकार सम्मेलनको सहजीकरण नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलालले गरेका थिए । उनले नाइमा एक्स्पोलाई प्रदर्शनी र सिकाइको उत्कृष्ट र बृहत स्थल बनाउन चाहेको बताए । नाइमाले परिवार, विद्यार्थी, पेसाकर्मी, उद्यमी, नीति निर्माता, सञ्चारकर्मी तथा आम सर्वसाधारणलाई नाइमा एक्स्पोमा सहभागी भई नेपालको सबैभन्दा ठूलो मोबिलिटी प्लेटफर्मको हिस्सा बन्न आमन्त्रण गरेको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal