• Menu

भदौ ९ देखि सुरु हुने नाडा अटो शोको स्टल वितरण, गोलाप्रथामार्फत छानिए कम्पनीहरू

नेपाल प्रफिट

२०८३ असार २१, १८:०४

भदौ ९ देखि सुरु हुने नाडा अटो शोको स्टल वितरण, गोलाप्रथामार्फत छानिए कम्पनीहरू

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने ‘एचपी प्रस्तुत नाडा अटो शो २०२६’ का लागि स्टल बाँडफाँटको गोलाप्रथा सम्पन्न गरेको छ। आगामी भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने प्रदर्शनीका सहभागी कम्पनीहरूबीच आइतबार नाडा सचिवालयमा गोलाप्रथामार्फत स्टल वितरण गरिएको हो।

यही असार महिनादेखि स्टलका लागि दर्ता खुला गरिएको थियो। नाडाका अध्यक्ष, निवर्तमान अध्यक्ष, पदाधिकारी, केन्द्रीय कार्यसमिति सदस्य तथा सहभागी कम्पनीका प्रतिनिधिको उपस्थितिमा सम्पन्न कार्यक्रममार्फत विभिन्न वर्गका सवारीसाधन, पार्टपुर्जा, वित्तीय सेवा तथा अन्य सम्बन्धित संस्थाका लागि स्टल निर्धारण गरिएको नाडाले जनाएको छ।

गोलाप्रथाअनुसार १९ वटा यात्रुवाहक सवारीसाधन, १० वटा दुईपाङ्ग्रे सवारीसाधन, १७ वटा हल्का व्यावसायिक सवारीसाधन तथा ७६ वटा साना स्टलमध्ये ४५ वटा अटो कम्पोनेन्ट कम्पनीलाई उपलब्ध गराइएको छ।

कार्यक्रममा नाडाका महासचिव मिलनबाबु मल्लले प्रदर्शनीमा सहभागिता जनाउने सबै कम्पनीप्रति आभार व्यक्त गर्दै यस वर्षको अटो शोलाई अझ व्यवस्थित, प्रभावकारी र आकर्षक बनाइने विश्वास व्यक्त गरे।