• Menu
s

‘सिन्धुली गढी घुमेर हेर्दा’ गीतको पुनर्जन्म : ४६ वर्षपछि राजु थापाको स्वरमा

नेपाल प्रफिट

२०८२ असोज ९, १९:५७


काठमाडौँ । नेपाली सांगीतिक इतिहासमा अमर बनेको गीत ‘सिन्धुली गढी घुमेर हेर्दा सुन्तलीमाई कतिमा राम्रो दरबार, मार्‍यो नि मायाले मार्‍यो’ ४६ वर्षपछि नयाँ स्वरूपमा आएको छ ।

यो कालजयी गीतले सिन्धुलीगढीको ऐतिहासिक र सांस्कृतिक महत्वलाई देशव्यापी चिनायो, अब सर्जक कृष्णविक्रम थापाका जेठा छोरा राजु थापाको स्वरमा म्युजिक नेपालमार्फत युट्युबमा सार्वजनिक भएको छ ।

रिमेक भिडियोमा सिन्धुलीका रमणीय दृश्यहरू, गढी, दरबार, र कृष्णविक्रमको सालिक समेटिएका छन्, जसले नयाँ पुस्तालाई यो ऐतिहासिक स्थल र गीतको सांस्कृतिक धरोहरसँग जोड्ने अपेक्षा गरिएको छ ।

गीतको ऐतिहासिक पृष्ठभूमि

‘सिन्धुली गढी घुमेर हेर्दा’ २०३६ सालमा रेडियो नेपालमा रेकर्ड भएको थियो । यो गीत कृष्णविक्रम थापाको शब्द, संगीत र स्वरमा तयार भएको थियो । रेडियो नेपालको गीत प्रतियोगितामा यसले पहिलो पुरस्कार जित्न सफल भएको थियो । सिन्धुलीगढी वीर गोर्खालीहरूले १८२४ मा अंग्रेज फौजलाई परास्त गरेको ऐतिहासिक स्थल हो, यो गीतमार्फत आम नेपालीको जिब्रोमा झुन्डिएको थियो ।

यो गीतले सिन्धुलीगढीको ऐतिहासिक महत्वमात्र होइन, त्यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरलाई पनि उजागर गरेको छ । गीतको बोलले सिन्धुलीगढीको रमणीय दृश्य, सुन्तलीगढी दरबार र त्यहाँको वातावरणलाई जीवन्त बनाउँछ ।

सिन्धुलीगढी, जहाँ गोर्खाली सेनाले वंशु गुरुङको नेतृत्वमा अङ्ग्रेज कम्पतान किनलकको फौजलाई बुद्धि र रणनीतिले हराएको थियो, यो गीतले नेपाली वीरताको कथा बोकेको छ ।

राजु थापाको संघर्ष र प्रेरणा

सिन्धुलीको दुर्गम गाउँमा जन्मिएका कृष्णविक्रम थापाले रेडियो नेपालसम्म पुगेर यो कालजयी गीत रेकर्ड गर्न सफल भएका थिए । उनी आफ्नो समयका बिन्दास व्यक्तित्व थिए । तर, उनको पारिवारिक जीवन संघर्षमय थियो ।

परिवार पाल्न ठूलो संघर्ष गर्नुपर्ने अवस्थाले उनका सन्तानसमेत संगीततर्फ आकर्षित भएनन् । राजुले जीवन धान्न कहिले नेपालभित्र त कहिले भारतमा मजदुरी गरे । संगीतमा औपचारिक शिक्षा वा अनुभव नभए पनि उनले आफ्ना बाबुको सांगीतिक विरासतलाई जोगाउने सपना देखे ।

कृष्णविक्रमका गीतहरू जस्तै ‘सातै डाँडा काटेर’, ‘सहरकी चेली गाउँघरमा आइछन्’, ‘साँघुटार बजारकी साइँली र माइली’, ‘चौतारी छाया बसौँ बसौँ लाग्छ’, ‘तोरी लाहुरे’, र ‘खैंजेडी भजन’, रेडियो नेपालमा रेकर्ड भएका थिए र अधिकांश चर्चित छन् । यी गीतहरूले नेपाली लोकसंगीतको समृद्ध इतिहास बोकेका छन् । तर, समयसँगै यी गीतहरू हराउने जोखिममा थिए । राजुले यी गीतहरूको संरक्षण गर्ने अठोट लिए ।

रिमेकको यात्रा: बाबुको बिँडो थाम्ने प्रयास

राजुको संगीतप्रतिको यात्रा २०८१ माघ १ मा सिन्धुलीमाढीमा ब्रदरहुड इभेन्ट्सले आयोजना गरेको कन्सर्टबाट सुरु भयो । उनले आयोजकलाई आफ्ना बाबुको गीत गाउने प्रस्ताव राखे ।  आयोजकले उनलाइ अवसर दिए । दर्शकहरूको हुटिङ र उत्साहले उनलाई हौसला प्रदान गर्‍यो ।

त्यसअघि ‘कृष्णविक्रमको छोरा’ भनेर मात्र चिनिएका राजुले यसपछि आफ्नो छुट्टै पहिचान बनाउने सपना देखे । उनले बाबुका गीतहरू खोज्न रेडियो नेपाल पुगे, जहाँ उनले म्युजिक नेपालले ‘सिन्धुली गढी घुमेर हेर्दा’को प्रतिलिपि अधिकार लिएको थाहा पाए ।

म्युजिक नेपालसँगको सहकार्यमा राजुले यो गीत रिमेक गर्ने अवसर पाए । संगीतको औपचारिक शिक्षा नभए पनि उनले बाबुको सिर्जनालाई न्याय गर्ने अठोट लिए । स्टुडियोमा रेकर्डिङका लागि उनले कामबाट बिदा लिएका थिए । तर आश्चर्यजनक रूपमा उनको रेकर्डिङ दुई–तीन टेकमै पूरा भयो ।

‘एउटा गीत गाउन घण्टौँ लाग्छ भन्ने सुनेको थिएँ तर मेरो रेकर्डिङ छिट्टै सकियो,’ राजुले उत्साहित हुँदै भने । रुविन श्रेष्ठले गीतको पुनः संयोजन गरे, जसले यो कालजयी सिर्जनालाई आधुनिक स्वरूप दियो ।

म्युजिक भिडियो: सिन्धुलीगढीको गौरव

गीतले सिन्धुलीगढीलाई चिनाएको छ, त्यसैले भिडियोले पनि त्यही ठाउँको सौन्दर्य र ऐतिहासिकता झल्काउनुपर्छ भन्ने राजुको मत थियो । सिन्धुली कलाघरका कलाकारहरू र म्युजिक भिडियोका कलाकारहरू रमेश विश्वकर्मा र दिप्सा कार्कीलगायतलाई समेटेर बनाइएको यो भिडियो क्रान्ति केसीको निर्देशन र बासु बरालको छायांकनमा तयार भएको छ ।

यो भिडियोले सिन्धुलीगढीको प्राकृतिक सौन्दर्य महाभारत डाँडा, तराईका फाँट र हिमालको रमणीय दृश्यलाई जीवन्त बनाउँछ । भिडियोमा समेटिएको कृष्णविक्रमको सालिकले उनको सांगीतिक योगदानलाई सम्मान गर्छ । कमलामाई नगरपालिकाले सिन्धुलीगढीमा स्थापना गरेको यो सालिक सर्जकप्रति सम्मानको प्रतीक हो ।

सिन्धुलीगढीको ऐतिहासिक महत्व

सिन्धुलीगढी नेपालको वीरताको प्रतीक हो । वि.सं. १८२४ मा गोर्खाली सेनाले वंशु गुरुङको नेतृत्वमा अंग्रेज फौजलाई परास्त गरेको यो स्थलले २५० वर्षदेखि नेपाली गौरव बोकेको छ । अंग्रेजहरूको संसारमै पहिलो हारको गवाह बनेको यो स्थल सामरिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण छ । यो गीतले सिन्धुलीगढीको वीरता र सौन्दर्यलाई विश्वसामु चिनाउनेछ ।

यो रिमेकले राजुलाई सेलिब्रेटी बनाएको छ । ‘यसअघि मलाई कृष्णविक्रमको छोरा भनेर चिनिन्थ्यो, तर अब बाबुको बिँडो थाम्न सकेँ भन्ने लाग्छ,’ राजुले भावुक हुँदै भने । दर्शक र श्रोताबाट राम्रो प्रतिक्रिया पाइरहेका उनले बाबुका अन्य गीत पनि रिमेक गर्ने योजना बनाएका छन् ।

‘सिन्धुली गढी घुमेर हेर्दा’ को रिमेकले ४६ वर्ष पुरानो कालजयी गीतलाई नयाँ पुस्तासम्म पुर्‍याएको छ । र, कृष्णविक्रम थापाको सांगीतिक विरासतलाई अमर राख्ने अपेक्षा छ ।