
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवको निर्देशनपछि विशेष आर्थिक क्षेत्र (सेज) भित्र सञ्चालनमा रहेका उद्योगहरूको वर्षौंदेखिको बक्यौता भाडा असुली प्रक्रिया तीव्र पारिएको छ। सरकारले बक्यौता रहेका उद्योगलाई एक साताभित्र सम्पूर्ण भाडा बुझाउन अन्तिम निर्देशन दिँदै समयमै भुक्तानी नगरे बिजुली र खानेपानी सेवा काटिने चेतावनी दिएको छ।
विशेष आर्थिक क्षेत्र प्राधिकरणले सेजभित्र सञ्चालित उद्योगहरूको भाडा, सेवा शुल्क तथा अन्य देय रकमको विवरण सार्वजनिक गर्दै तत्काल बक्यौता असुली प्रक्रिया अघि बढाएको हो। मन्त्री यादवले सरकारी सम्पत्ति प्रयोग गरेर पनि वर्षौंदेखि भाडा नतिर्ने उद्योगलाई अब कुनै छुट नदिन निर्देशन दिएको जनाइएको छ।
प्राधिकरणका अनुसार पहिलो सूचीमा रहेका उद्योगहरूको १ करोड ७७ लाख ६८ हजार ४३८ रुपैयाँ ९० पैसा बक्यौता उठ्न बाँकी छ। दोस्रो सूचीमा रहेका उद्योगहरूको १६ लाख ९४ हजार ७८६ रुपैयाँ १७ पैसा बाँकी रहेको छ। यससँगै कुल बक्यौता १ करोड ९४ लाख ६३ हजार रुपैयाँभन्दा बढी पुगेको छ।
यद्यपि प्राधिकरणले हालसम्म उल्लेखनीय रकम असुल गर्न सफल भएको जनाएको छ। पहिलो सूचीअनुसार ६ करोड १४ लाख ५८ हजार २५९ रुपैयाँ १२ पैसा र दोस्रो सूचीअनुसार ९ करोड ९५ लाख ९२ हजार ४९२ रुपैयाँ ४१ पैसा असुल गरिएको छ। दुवै सूचीमा गरी १६ करोड रुपैयाँभन्दा बढी रकम असुल भइसकेको प्राधिकरणले जनाएको छ ।
सेज व्यवस्थापनका अनुसार उद्योगहरूलाई पटक-पटक लिखित तथा मौखिक रूपमा भाडा तिर्न आग्रह गरिए पनि अपेक्षित रूपमा रकम नआएपछि कानुनी प्रक्रिया अघि बढाइएको हो। अन्तिम सूचना जारी गरिएकाले सात दिनभित्र बक्यौता नतिर्ने उद्योगको बिजुली र खानेपानी सेवा बन्द गरिने, सम्झौता कार्यान्वयन गरिने तथा आवश्यक परे थप कानुनी कारबाहीसमेत गरिने तयारी गरिएको छ।
मन्त्री यादवले सरकारी सम्पत्तिको उपयोग गर्ने उद्योगले आफ्नो आर्थिक दायित्व समयमै पूरा गर्नुपर्ने भन्दै राज्यलाई बुझाउनुपर्ने राजस्व रोक्ने कुनै पनि उद्योगलाई अब छुट नदिइने स्पष्ट निर्देशन दिएकी छन् ।
प्राधिकरणले नियमित अनुगमनलाई थप प्रभावकारी बनाउँदै नयाँ बक्यौता सिर्जना हुन नदिने र पुराना सबै बक्यौता अभियानकै रूपमा असुल गर्ने जनाएको छ। साथै, उद्योगहरूलाई तोकिएको समयभित्र बक्यौता चुक्ता गरी थप कारबाहीबाट बच्न आग्रह गरिएको छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal