
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्र क्षेत्रको विकास, अन्तर्राष्ट्रिय प्रवर्धन तथा सांस्कृतिक आदानप्रदानका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सोमबार ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलसँग भएको शिष्टाचार भेटमा मन्त्री तिमिल्सिनाले नेपाल-चीनबीच चलचित्र, संस्कृति र पर्यटन प्रवर्धनमा सहकार्य विस्तार गर्न सरकार सकारात्मक रहेको बताए।
उनले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले दुई देशबीचको सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै नागरिकस्तरको सम्बन्ध विस्तार र पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। आपसी हित र साझा लाभका आधारमा आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिनुपर्ने उनको भनाइ थियो।
मन्त्री तिमिल्सिनाले चीन नेपालका लागि प्रमुख पर्यटक स्रोत मुलुकमध्ये एक रहेको उल्लेख गर्दै नेपाली प्राकृतिक सम्पदा, संस्कृति र पर्यटकीय गन्तव्यलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्धन गर्न चलचित्र प्रभावकारी माध्यम बन्न सक्ने बताए । साथै, नेपाली चलचित्रलाई विश्व बजारमा पुर्याउन र अन्तर्राष्ट्रिय पहुँच विस्तार गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
भेटका क्रममा चिनियाँ प्रतिनिधिमण्डलका नेता तथा ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’का संस्थापक अध्यक्ष ली होङ्शुले नेपाल चीनको घनिष्ठ मित्र राष्ट्र भएको उल्लेख गर्दै नेपालको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र चलचित्र छायांकनका लागि उपयुक्त वातावरणको प्रशंसा गरे। उनले चलचित्रमार्फत सांस्कृतिक आदानप्रदान, पर्यटन प्रवर्धन तथा दुई देशका नागरिकबीचको सम्बन्ध अझ सुदृढ बनाउन सकिने धारणा राखे ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहालका अनुसार नेपाल-चीनबीच चलचित्र तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले सञ्चालन गरिएको ‘एभरेस्ट इन्टरनेसनल फिल्म फेस्टिभल’ले नेपाली चलचित्रलाई चिनियाँ बजारसँग जोड्ने महत्वपूर्ण मञ्चका रूपमा काम गरिरहेको छ।
उनले सन् २०२६ अप्रिल १४ देखि १९ सम्म चीनको हुनान प्रान्तस्थित चाङ्सा र हेङयाङमा सम्पन्न महोत्सव नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७१औँ वर्षको अवसरमा आयोजना गरिएको जानकारी दिए ।
महोत्सवका लागि नेपालबाट २३ वटा चलचित्र आवेदन परेकोमा ११ वटा प्रारम्भिक छनोटमा परेका थिए। चिनियाँ सेन्सर प्रक्रियापछि ‘अञ्जिला’, ‘छक्का पञ्जा ५’, ‘तेल भिसा’, ‘महाजात्रा’, ‘कबड्डी ४’ र ‘होस्टेल ३’ गरी ६ नेपाली चलचित्र प्रदर्शनका लागि स्वीकृत भएका थिए। ती चलचित्र चिनियाँ सबटाइटलसहित चाङ्सा र हेङयाङका चलचित्र हलमा प्रदर्शन गरिएको थियो।
अध्यक्ष दाहालका अनुसार महोत्सवमा पुरस्कृत चलचित्रहरूको पुरस्कार वितरण कार्यक्रम मंगलबार (साउन ५) चलचित्र विकास बोर्ड, काठमाडौंमा आयोजना गरिनेछ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal