• Menu

आजका ११ समाचार : महँगियो राइड सेयरिङ, बढ्यो वैदेशिक लगानी

नेपाल प्रफिट

२०८३ साउन ३, २०:४७


राइड सेयरिङ सेवामा साउन १ देखि ५ प्रतिशत भ्याट र १ प्रतिशत टीडीएस लागेपछि पठाओ, इन्ड्राइभ र याङ्गो प्रयोगकर्ता वैकल्पिक यातायाततर्फ आकर्षित हुन थालेका छन्। १०० रुपैयाँको राइडमा अब ६ रुपैयाँ सरकारलाई जान्छ। कम्पनीहरूले उक्त रकम राइडरबाट असुल गर्ने सूचना दिएका छन्। हाल पठाओले २० प्रतिशत, इन्ड्राइभले १० प्रतिशत र याङ्गोले ३ प्रतिशत कमिसन लिँदै आएका छन्, जसले कर र सेवा शुल्कको भार २६ प्रतिशतसम्म पुगेको छ, यसले नागरिकमा आर्थिक भार थपिनेछ ।

***

नेपालको घरजग्गा बजारमा गत आर्थिक वर्ष २०८२/८३ को अन्तिम महिना असारमा उल्लेखनीय उछाल देखिएको छ। भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेठमा ५ अर्ब २४ करोड रुपैयाँ रहेको मालपोत राजस्व असारमा बढेर ११ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ, जुन करिब १२८ प्रतिशत धेरै हो । काठमाडौँ लगनखेल, कलङ्की, डिल्लीबजार र चावहिल मालपोत कार्यालयमा रजिष्ट्रेसन दस्तुर दोब्बरदेखि तीन गुणासम्म बढेको छ भने पुँजीगत लाभकर संकलनमा पनि उल्लेखनीय वृद्धि भएको छ। पोखरा, चितवन र सुनसरीलगायत मोफसलमा पनि कारोबार बढेको छ। आर्थिक वर्ष अन्त्यको राफसाफ, सरकारी खर्च प्रवाह र बैंकिङ तरलताले बजार सक्रिय बनेको विश्लेषण गरिएको छ।

***

गत आर्थिक वर्ष २०८२/८३ मा वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर ७ लाख ९२ हजार १८७ नेपाली विदेश गएका छन् । तीमध्ये ६ लाख ९७ हजार ९६ पुरुष र ९५ हजार ९१ महिला छन्। यो संख्या अघिल्लो वर्षको तुलनामा ४७ हजार ७९ जनाले कम हो। यूएई, मलेसिया, साउदी अरब र कतार नेपाली कामदारका प्रमुख गन्तव्य बनेको विभागको तथ्यांकले देखाउँछ ।

***

नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दीर्घबहादुर रावलले बैंक तथा वित्तीय संस्थामा हुने सामान्य प्राविधिक त्रुटिमा गरिने कारबाहीका कारण सञ्चालक वा प्रमुख कार्यकारी अधिकृत नियुक्तिमा अन्योल सिर्जना भएकाले ऐनमै स्पष्ट व्यवस्था गर्नुपर्ने बताएका छन्। प्रतिनिधिसभाको अर्थ समितिमा राष्ट्र बैंक ऐन संशोधन मस्यौदामाथिको छलफलमा उनले यस्तो धारणा राखेका हुन्। राष्ट्र बैंक ऐनको दफा १०० अनुसार हुने कारबाहीलाई आधार बनाएर नियुक्ति रोक्नुपर्ने विषय सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्चले हालका नियुक्ति यथावत राख्न सकिने तर नयाँ नियुक्तिमा यो व्यवस्था लागू हुन सक्ने व्याख्या गरेको छ।

***

नेपाल विद्युत प्राधिकरणले पीपीए भई निर्माणाधीन तर अझै व्यावसायिक उत्पादनमा नआएका जलविद्युत आयोजनाको व्यावसायिक उत्पादन सुरु गर्ने अन्तिम मिति थप गर्ने तयारी गरेको छ। सञ्चालक समितिले आयोजना प्रगति र पीपीए दायित्वका आधारमा आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गर्ने निर्णय गरेको हो। प्रसारण पूर्वाधार ढिलाइले रोकिएका आयोजना ‘ख’ समूहमा पर्नेछन् भने न्यून प्रगति वा दायित्व पूरा नगरेका आयोजनालाई ‘ग’ र ‘घ’ समूहमा राखी आवश्यक परे पीपीए रद्द प्रक्रिया अघि बढाइनेछ। यस व्यवस्थाले निर्माणाधीन तथा अलपत्र आयोजनाको व्यवस्थापन थप पारदर्शी र उत्तरदायी हुने अपेक्षा गरिएको छ।

***

गरिमा विकास बैंकले नयाँ आर्थिक वर्ष २०८३/८४ को अवसरमा तीन नयाँ डिजिटल सेवा सार्वजनिक गरेको छ। बैंकले गरिमा प्रिपेड डलर कार्ड, गरिमा पिओएस टर्मिनल र गरिमा इन्टर बैंक क्युआर टेलर सेवाको औपचारिक शुभारम्भ गरेको हो। डलर कार्डमार्फत अन्तर्राष्ट्रिय वेबसाइट तथा ई–कमर्समा अनलाइन भुक्तानी गर्न सकिनेछ भने पिओएस सेवाले व्यवसायीलाई कार्डमार्फत डिजिटल भुक्तानी स्वीकार गर्न सहज बनाउनेछ। क्युआर टेलर सेवाबाट फोनपे नेटवर्कमा आबद्ध अन्य बैंकका ग्राहकले गरिमा बैंकको शाखाबाट क्युआर स्क्यान गरी नगद झिक्न सक्नेछन्।

***

नेपालमा वैदेशिक लगानी रहेका परियोजनाको संख्या ३२ दशमलव ५ प्रतिशतले बढेर १ हजार एक सय १६ पुगेको छ। उद्योग विभागको आर्थिक वर्ष २०८२/८३ को प्रतिवेदनअनुसार स्वचालित मार्गमार्फत स्वीकृत परियोजना ८ सय ९७ पुगेका छन्, जुन अघिल्लो वर्षभन्दा ९८ प्रतिशत बढी हो। यद्यपि कुल लगानी प्रतिबद्धता रकम १० प्रतिशत घटेर ५८ अर्ब १ करोड रुपैयाँमा सीमित भएको छ। परियोजनामध्ये ६५ प्रतिशत सूचना प्रविधि क्षेत्रमा छन् भने लगानी रकमका आधारमा कृषि क्षेत्र अगाडि रहेको छ। यी परियोजनाबाट २८ हजारभन्दा बढी प्रत्यक्ष रोजगारी सिर्जना हुने अनुमान गरिएको छ। सरकारले डिजिटल प्रक्रिया, नाफा फिर्ता लैजान पाउने सुविधा र नयाँ लगानी निर्देशिकामार्फत नेपाललाई दक्षिण एसियाको आकर्षक लगानी गन्तव्य बनाउने लक्ष्य राखेको छ।

***

नेपाली बजारमा आइतबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको छ। शुक्रबार सुन २ लाख ८२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार २४० रुपैयाँ पुगेको छ।

***

नेकपा एमालेले संसद्मा आफ्नो भूमिका प्रभावकारी बनाउन पार्टीका सांसदलाई प्रशिक्षण दिएको छ। पार्टीको संसदीय विभागद्वारा आयोजित प्रशिक्षणमा संसदीय अभ्यास, संसद्मा निर्वाह गर्नुपर्ने जिम्मेवारी तथा संसदीय समितिको प्रभावकारी परिचालनबारे जानकारी दिइएको विभाग प्रमुख तथा पार्टी सचिव पद्मा अर्यालले बताइन्।

***

गत आर्थिक वर्ष २०८२/८३ मा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पर्यटक आगमन बढेको छ। निकुञ्जका सूचना अधिकारी अविनास थापा मगरका अनुसार उक्त अवधिमा २ लाख ७२ हजार ९२३ पर्यटकले भ्रमण गरेका छन्, जबकि अघिल्लो आर्थिक वर्षमा यो संख्या २ लाख ३१ हजार ३२९ थियो। २२ हजार ८८३ सार्क राष्ट्रका र ८८ हजार ६६५ अन्य मुलुकका पर्यटक छन्। एकसिङ्गे गैँडा, पाटेबाघ, भालु, हात्ती र चराचुरुङ्गी अवलोकनका लागि पर्यटक निकुञ्ज पुग्ने गरेका छन्। निकुञ्जले पर्यापर्यटनबाट २७ करोड ६३ लाख रुपैयाँभन्दा बढी तथा काठदाउरा, गैरकाष्ठ वन पैदावार र जरिवानालगायत शीर्षकबाट ३१ करोड १ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको जनाएको छ।

***

पाकिस्तानका लागि इरानी राजदूत रेजा अमिरि मोघादामले अमेरिकाको शान्तिप्रतिको प्रतिबद्धतामाथि प्रश्न उठाउँदै वासिङ्टनमा कूटनीतिक सम्झौता कार्यान्वयन गर्ने इच्छाशक्तिको अभाव रहेको आरोप लगाएका छन् । सामाजिक सञ्जाल एक्समा उनले अमेरिकी शान्ति प्रयास व्यवहारमा नभई भाषणमा सीमित रहेको टिप्पणी गरे। समझदारीपत्र उल्लंघन गर्न अमेरिकाले ६० दिन पनि नपर्खिएको दाबी गर्दै उनले आवश्यक गम्भीरता र नियतको कमी रहेको बताए। पाकिस्तानको मध्यस्थतामा भएको समझदारीपत्र कार्यान्वयनलाई लिएर पुनः तनाव बढिरहेका बेला यस्तो अभिव्यक्ति आएको हो। अमेरिकी पक्षले भने हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया दिएको छैन।