अहिले धेरै मानिसको हात-हातमै बैंकिङ सुविधा छ । कसैलाई पैसा तिर्न होस् या कसैबाट लिन । खाजा खाएको पैसा होस् या विभिन्न सामान किनेको भुक्तानी गर्न । नगद चाहिँदैन । यत्ति हो, आफ्नो बैंक खातामा पैसा हुनुपर्छ र हातमा स्मार्ट फोन हुनुपर्छ ।
हामी दैनिक सयौं कारोबार मोबाइलबाट गर्न सक्छौं । हिजोआज धेरै नेपाली मोबाइलबाट भुक्तानी गरिरहेका हुन्छन् । भुक्तानीको अवस्था के छ ? कति धेरै मानिसले डिजिटल बैंकिङ कारोबार गरिरहेका छन् भनेर हामीले नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको २०८२ चैत मसान्त सम्मको तथ्यांक केलाउने प्रयास गरेका छौं ।
नेपालको वित्तीय प्रणाली अहिले तीव्र डिजिटल रूपान्तरणको चरणमा छ । केही वर्ष अघिसम्म बैंकको काउन्टर, नगद कारोबार र चेकमा निर्भर नेपाली अर्थतन्त्र आज मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, वालेट, कार्ड र फास्टर पेमेन्ट सिस्टममार्फत सञ्चालन हुने दिशामा अघि बढिरहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको २०८२ चैतसम्मको तथ्यांकले नेपालमा डिजिटल भुक्तानीको पहुँच र प्रयोग दुवै उल्लेखनीय रूपमा विस्तार भएको देखाएको छ ।
यो तथ्यांक कारोबारको वृद्धि मात्र होइन, नेपाली समाजको व्यवहार, बैंकिङ संस्कृति र आर्थिक गतिविधिको स्वरूप परिवर्तन हुँदै गएको संकेत पनि हो । गाउँदेखि सहरसम्म मोबाइलबाट पैसा पठाउने, पसलमा क्यूआर स्क्यान गरेर भुक्तानी गर्ने, अनलाइन सामान खरिद गर्ने र डिजिटल माध्यमबाट सरकारी तथा निजी सेवाको शुल्क तिर्ने चलन सामान्य बन्दै गएको छ ।
नेपाली समाज नगदबाट डिजिटलतर्फ कसरी सिफ्ट भइरहेको छ भन्ने कुरा तथ्यांकहरुले स्पष्ट पार्छन् ।
सबैभन्दा ठूलो डिजिटल माध्यम : मोबाइल बैंकिङ
नेपालमा डिजिटल भुक्तानीको सबैभन्दा ठूलो आधार मोबाइल बैंकिङ बनेको छ । २०८२ चैतसम्ममा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या २ करोड ९७ लाख ७५ हजारभन्दा बढी पुगेको छ । २०८१ चैतसम्म यो संख्या २ करोड ७० लाख १२ हजारमात्र थियो । यो तथ्यांकले एक वर्षमै २७ लाखभन्दा धेरै नयाँ प्रयोगकर्ता डिजिटल बैंकिङमा जोडिएको स्पष्ट देखाउँछ ।
मोबाइल बैंकिङ केवल खाताको ब्यालेन्स हेर्ने माध्यममा सीमित छैन । अहिले विद्युत् महसुल तिर्नेदेखि विद्यालय शुल्क, टिकट बुकिङ, सरकारी राजस्व भुक्तानी र दैनिक किनमेलसम्म मोबाइल बैंकिङको प्रयोग भइरहेको छ ।
कारोबार संख्याको हिसाबले पनि मोबाइल बैंकिङ निकै अगाडि छ । २०८२ सालको चैतसम्ममा मोबाइल बैंकिङमार्फत ७ करोड ४४ लाख ६६ हजार पटक भन्दा बढी कारोबार भएको छ भने कारोबार रकम पनि ६ खर्ब १८ अर्ब ७१ करोड रुपैयाँभन्दा माथि पुगेको छ । जबकि, २०८१ सालमा त्यही अवधिमा ४ खर्ब ५० अर्ब ४५ करोड रुपैयाँको कारोबार भएको थियो । यसले नेपाली उपभोक्ताले डिजिटल माध्यमप्रति देखाएकझ विश्वास झन् बलियो भएको देखाउँछ ।
वालेट प्रयोगकर्तामा उच्च वृद्धि
डिजिटल वालेट नेपालमा वित्तीय पहुँच विस्तार गर्ने महत्वपूर्ण माध्यम बनेको छ । २०८२ चैतसम्म वालेट प्रयोगकर्ताको संख्या २ करोड ८३ लाखभन्दा बढी पुगेको छ । यद्यपि, यसमा एकभन्दा बढी वालेट प्रयोग गर्नेको संख्या पनि छ । केही वर्षअघि सहर केन्द्रित मानिएको वालेट सेवा अहिले ग्रामीण क्षेत्रमा समेत फैलिएको छ ।
वालेटमार्फत हुने कारोबार संख्या पनि उल्लेखनीय छ । २०८२ सालको चैतसम्मको अवधिमा ४ करोड ६५ लाख पटक बालेटबाट भुक्तानी भएको छ भने ५२ अर्बभन्दा माथिको कारोबार भएको छ ।
विशेष गरी साना रकमका दैनिक कारोबारमा वालेट लोकप्रिय देखिएको छ । चिया पसलदेखि किराना, ट्याक्सी, रेस्टुरेन्ट र खुद्रा व्यापारसम्म क्यूआर आधारित भुक्तानी सामान्य अभ्यास बन्दै गएको छ । यसले नगद बोक्ने आवश्यकता घटाएको छ भने कारोबारको पारदर्शिता पनि बढाएको छ ।
क्यूआर भुक्तानीको बढ्दो प्रभाव
नेपालमा क्यूआर कोड आधारित भुक्तानीको प्रयोग तीव्र रूपमा बढिरहेको छ । २०८२ चैतसम्ममा क्यूआरबाट ५ करोड ४६ लाख पटक भन्दा धेरै कारोबार भएको छ भने कारोबार रकम १ खर्ब ५३ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । चैतमा मात्रै २८ अर्बको कारोबार भएको देखिन्छ ।
क्यूआर भुक्तानी विस्तार हुनुमा बैंक, वालेट कम्पनी र राष्ट्र बैंकको नीतिगत सहजीकरण महत्वपूर्ण कारण मानिन्छ । साना व्यवसायीले समेत न्यून लागतमा डिजिटल भुक्तानी स्वीकार गर्न थालेपछि यसको पहुँच तीव्र रूपमा बढेको हो ।
नेपालमा अहिले सडक किनाराका पसलदेखि सुपर मार्केट, अस्पताल, पेट्रोल पम्प र सार्वजनिक यातायातसम्म क्यूआर स्क्यान गरेर भुक्तानी गर्ने प्रवृत्ति बढ्दै गएको छ । यसले नगदरहित अर्थतन्त्रतर्फको यात्रालाई गति दिएको छ ।
फास्टर पेमेन्ट सिस्टम
सरल भाषामा फास्टर पेमेन्ट सिस्टम भनेको नेपालभित्रका बैंक, वालेट, क्यूआर, मोबाइल बैंकिङ र अन्य डिजिटल पेमेन्ट प्रणालीलाई एउटै ‘हाइवे’मा जोड्ने केन्द्रीय नेटवर्क हो । नेपालको डिजिटल भुक्तानी प्रणालीमा फास्टर पेमेन्ट सिस्टमको भूमिका दिन प्रतिदिन बढिरहेको छ । २०८२ चैतसम्म यस प्रणालीमार्फत २ करोड ७३ लाख पटकभन्दा बढी कारोबार सम्पन्न भएका छन् । कारोबार रकम ६ खर्ब १४ अर्ब रुपैयाँ नाघेको छ ।
यो प्रणालीले बैंकबीचको रकम स्थानान्तरणलाई छिटो, सुरक्षित र सहज बनाएको छ । डिजिटल बैंकिङ सेवाको विस्तारसँगै तत्काल रकम पठाउने आवश्यकता बढेकाले फास्टर पेमेन्ट सिस्टमको प्रयोग तीव्र रूपमा बढेको देखिन्छ । विशेष गरी व्यावसायिक कारोबार, संस्थागत भुक्तानी र व्यक्ति–व्यक्तिबीचको तत्काल रकम स्थानान्तरणमा यसको प्रयोग बढेको छ ।
एटीएमको प्रयोग अझै बलियो
डिजिटल भुक्तानी विस्तार भइरहे पनि एटीएम सेवाको प्रयोग अझै पनि बलियो रहेको तथ्यांकले देखाउँछ । नेपालभर २०८२ चैतसम्म ५ हजार १७४ एटीएम मेसिन सञ्चालनमा छन् ।
एटीएममार्फत २०८२ चैतसम्मको ९ महिनामा ९८ लाख ३५ हजार पटक भन्दा बढी नगद झिकिएको छ भने कारोबार रकम ७७ अर्ब ७४ करोड रुपैयाँभन्दा माथि पुगेको छ । यसले नेपाली अर्थतन्त्र अझै नगदमा आधारित रहेको संकेत पनि गर्छ ।
विशेष गरी ग्रामीण क्षेत्र, साना व्यापार र औपचारिक डिजिटल पहुँच कम भएका समुदायमा नगद कारोबारको भूमिका अझै महत्वपूर्ण देखिन्छ । यद्यपि, एटीएम कारोबारको वृद्धिदर मोबाइल बैंकिङ र क्यूआरको तुलनामा सुस्त देखिन्छ ।
डेबिट र क्रेडिट कार्ड
नेपालमा डेबिट कार्ड प्रयोग गर्ने क्रम भने घटेको देखिन्छ । २०८२ फागुनसम्म १ करोड ४२ लाख ५ हजार डेबिट कार्ड प्रयोगमा रहेकोमा एकै महिनामा चार लाखले घटेर १ करोड ३८ लाख ४१ हजारमा झरेको छ ।
क्रेडिट कार्ड प्रयोगकर्ताको संख्या पनि घटेको छ । २०८२ चैतसम्म ३ लाख ३१ हजार क्रेडिट कार्ड प्रिन्ट भएकोमा एक महिनामा २ हजारले घटेर ३ लाख २९ हजारमा झरेको छ । डेबिट कार्डमार्फत २०८२ चैतसम्मको ९ महिनामा १ करोड ३ लाखभन्दा धेरै पटक कारोबार भएको छ भने कारोबार रकम ८० अर्ब रुपैयाँ नाघेको छ । चैतसम्ममा क्रेडिट कार्डबाट २ अर्ब २२ करोड रुपैयाँको कारोबार भएको छ ।
यो तथ्यांकले क्रेडिट कार्ड प्रयोग खासै फस्टाउन नसकेको देखिन्छ । नेपालमा उपभोक्ता संस्कृति विस्तार भए पनि क्रेडिटमा खर्च गर्ने प्रवृत्ति पश्चिमी देशहरुमा जस्तो विकास भइसकेको छैन । तथापि, सहरी मध्यम वर्गमा अनलाइन खरिद, होटल, रेस्टुरेन्ट र यात्रा खर्चका लागि क्रेडिट कार्ड प्रयोग बढ्दै गएको देखिन्छ ।
इन्टरनेट बैंकिङको स्थिर विस्तार
इन्टरनेट बैंकिङ प्रयोगकर्ता संख्या पनि बढ्दो क्रममा छ । २०८२ चैतसम्म इन्टरनेट बैंकिङ प्रयोगकर्ता २४ लाख ३ हजार हाराहारी छन् । इन्टरनेट बैंकिङमार्फत चैतसम्ममा ६ करोड २९ हजार पटक कारोबार भएको छ भने कारोबार रकम २७ अर्ब ४५ करोडभन्दा माथि पुगेको छ ।
मोबाइल बैंकिङको तुलनामा इन्टरनेट बैंकिङको वृद्धि केही सुस्त भए पनि ठूला रकमको कारोबार र व्यावसायिक प्रयोजनका लागि यसको प्रयोग महत्वपूर्ण र सहज मानिन्छ ।
ई–कमर्सको बढ्दो प्रभाव
नेपालमा ई–कमर्स विस्तारसँगै डिजिटल भुक्तानीको प्रयोग पनि बढेको देखिन्छ । २०८२ चैतसम्ममा ई–कमर्समार्फत २ लाख ४८ हजार वटा कारोबार भएका छन् भने १ अर्ब ४१ करोड रुपैयाँको कारोबार भएको छ ।
कोभिड–१९ महामारीपछि अनलाइन खरिद गर्ने प्रवृत्तिमा आएको परिवर्तन अझै कायम रहेको देखिन्छ । कपडा, खाद्यान्न, इलेक्ट्रोनिक्स, टिकेटिङ र विभिन्न सेवाहरूको डिजिटल खरिद बढ्दै गएको छ ।
ठूलो रकम कारोबारको आधार आरटीजीएस
ठूलो रकमको बैंकिङ कारोबारका लागि प्रयोग हुने रियल टाइम ग्रस सेटलमेन्ट अर्थात् आरटीजीएस पनि नेपालको वित्तीय प्रणालीमा महत्वपूर्ण माध्यम बनेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ चैतसम्ममा आरटीजीएसमार्फत ८० हजार पटक भन्दा धेरै कारोबार भएका छन् ।
कारोबार संख्या अन्य प्रणालीभन्दा कम भए पनि रकमका हिसाबले यो निकै ठूलो छ । २०८२ चैतसम्ममा आरटीजीएसमार्फत ६८ खर्ब ४६ अर्बभन्दा बढी रकम कारोबार भएको छ । यसले नेपालमा ठूला व्यावसायिक तथा संस्थागत कारोबार बैंकिङ प्रणालीमार्फत व्यवस्थित रूपमा भइरहेको देखाउँछ ।
सामाजिक प्रभाव
डिजिटल भुक्तानीको विस्तारले बैंकिङ प्रणालीलाई मात्र परिवर्तन गरेको छैन, यसले सामाजिक र आर्थिक व्यवहारमा पनि गहिरो प्रभाव पारिरहेको छ । डिजिटल माध्यमले वित्तीय पहुँच विस्तार गरेको छ । बैंक शाखा नपुगेका क्षेत्रका नागरिकले पनि मोबाइलमार्फत बैंकिङ सेवा प्रयोग गर्न थालेका छन् ।
त्यस्तै, कारोबारको पारदर्शिता बढेको छ । डिजिटल माध्यमबाट हुने भुक्तानीले नगद कारोबारमा हुने अनियमितता र जोखिम कम गर्न सहयोग पुर्याएको छ । व्यवसाय सञ्चालन सहज भएको छ भने साना व्यापारीले क्यूआर भुक्तानी स्वीकार गरेपछि ग्राहकको पहुँच विस्तार भएको छ । त्यसैगरी, सरकारी सेवा वितरण पनि सहज बन्दै गएको छ । कर, राजस्व, शुल्क तथा विभिन्न सरकारी सेवाको डिजिटल भुक्तानी बढ्दै गएको छ ।
नगदरहित अर्थतन्त्रतर्फको यात्रा
राष्ट्र बैंकको तथ्यांकले नेपाल नगदरहित अर्थतन्त्रतर्फ क्रमशः अघि बढिरहेको स्पष्ट पारेको छ । मोबाइल बैंकिङ, वालेट, क्यूआर, फास्टर पेमेन्ट सिस्टम र ई–कमर्सको विस्तारले डिजिटल अर्थतन्त्रको आधार मजबुत बनाइरहेको छ ।
विशेष गरी युवा पुस्ता डिजिटल भुक्तानीको मुख्य चालकका रूपमा देखिएको छ । स्मार्टफोनको पहुँच, इन्टरनेट विस्तार र डिजिटल सेवाप्रतिको आकर्षणले आगामी वर्षहरूमा डिजिटल कारोबार अझ तीव्र रूपमा बढ्ने अनुमान गर्न सकिन्छ ।
नेपालको अर्थतन्त्र अहिले केवल बैंकको काउन्टरमा सीमित छैन । अब आर्थिक गतिविधि मोबाइलको स्क्रिनभित्र प्रवेश गरिसकेको छ । यही परिवर्तनले भविष्यको नेपालको वित्तीय संरचना निर्धारण गर्नेछ । डिजिटल भुक्तानीको विस्तार केवल प्रविधिको कथा होइन, नयाँ आर्थिक प्रवृत्तिको सुरुवात पनि हो ।
चुनौती अझै बाँकी
नेपाल डिजिटल भुक्तानीतर्फ तीव्र गतिमा अघि बढिरहे पनि केही चुनौती अझै कायम छन् । ग्रामीण क्षेत्रमा इन्टरनेट पहुँच र डिजिटल साक्षरता ठूलो समस्याका रुपमा उभिएको छ । धेरै नागरिक डिजिटल फ्रड, साइबर सुरक्षा र अनलाइन ठगीबारे पर्याप्त सचेत छैनन् ।
त्यस्तै, विभिन्न डिजिटल प्लेटफर्मबीच अन्तरसम्बन्ध र सेवा गुणस्तर सुधार गर्नुपर्ने आवश्यकता पनि देखिन्छ । कतिपय समयमा प्रणाली अवरुद्ध हुने, कारोबार अड्किने वा रकम फिर्ता हुन ढिला हुने समस्या प्रयोगकर्ताले भोगिरहेका छन् ।
साइबर सुरक्षाको जोखिम पनि बढ्दो चुनौती हो । डिजिटल कारोबार बढेसँगै अनलाइन ठगी, फिसिङ र ह्याकिङका घटना बढ्न सक्ने भएकाले बैंक तथा नियामक निकायले सुरक्षा प्रणालीलाई थप बलियो बनाउनुपर्ने देखिन्छ ।
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal