• Menu

बजाज मोटरसाइकलको मासिक किस्ता घट्यो, अब पाँच वर्षसम्म ऋण सुविधा

नेपाल प्रफिट

२०८३ साउन ३, १४:२०

बजाज मोटरसाइकलको मासिक किस्ता घट्यो, अब पाँच वर्षसम्म ऋण सुविधा

काठमाडौं । नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक एचएच बजाजले हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडसँगको सहकार्यमा नयाँ वित्तीय सुविधा सार्वजनिक गरेको छ। नयाँ व्यवस्थाअनुसार अब बजाज मोटरसाइकल खरिद गर्दा अधिकतम पाँच वर्ष (६० महिना) सम्म ऋण सुविधा लिन सकिनेछ।

कम्पनीका अनुसार यसअघि तीन वर्षसम्म मात्रै उपलब्ध रहेको ऋण अवधि पाँच वर्ष पुर्‍याइएकाले मासिक किस्ता उल्लेख्य रूपमा घटेको छ। साथै, ब्याजदर पनि ९.९९ प्रतिशतबाट घटाएर ८.९९ प्रतिशत कायम गरिएको छ, जसले ग्राहकको मासिक आर्थिक भार कम हुने विश्वास गरिएको छ।

यो सुविधा प्लाटिना १०० इएसदेखि डोमिनार ४०० सम्मका सबै बजाज मोटरसाइकलमा लागू हुनेछ। नयाँ व्यवस्थाअनुसार प्लाटिना १०० इएसको मासिक किस्ता करिब ३ हजार २५५ रुपैयाँबाट घटेर २ हजार १२४ रुपैयाँमा पुगेको छ भने डोमिनार ४०० को मासिक किस्ता करिब ८ हजार २२७ रुपैयाँबाट घटेर ५ हजार ३७० रुपैयाँमा झरेको कम्पनीले जनाएको छ।

त्यस्तै, पल्सर शृङ्खलाका विभिन्न मोडेलमा पनि मासिक किस्ता घटाइएको छ। कम्पनीका अनुसार यो सीमित अवधिको छुट योजना नभई ग्राहकलाई सहज किस्तामा मोटरसाइकलको स्वामित्व दिलाउने दीर्घकालीन व्यवस्था हो।

नेपाल राष्ट्र बैंकको नियमनमा रहेको हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडमार्फत उपलब्ध हुने यो सुविधा देशभर रहेका एचएच बजाजका शोरुमबाट लिन सकिने कम्पनीले जनाएको छ।