• Menu

अवैध र गुणस्तरहीन वस्तु बेच्ने व्यवसायीलाई कडा चेतावनी, अनलाइन बजारमा पनि निगरानी बढाइने

नेपाल प्रफिट

२०८३ साउन ४, १४:०७

अवैध र गुणस्तरहीन वस्तु बेच्ने व्यवसायीलाई कडा चेतावनी, अनलाइन बजारमा पनि निगरानी बढाइने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले लेबलविहीन, न्यून गुणस्तरका, मिसावटयुक्त तथा चोरी पैठारी गरिएका वस्तुको उत्पादन, बिक्री-वितरण र कारोबारमा संलग्न व्यवसायीलाई कडा कारबाही गरिने चेतावनी दिएको छ ।

विभागले आइतबार चालु आर्थिक वर्ष २०८३/८४ को सूचना नं. ०३/०८३-८४ जारी गर्दै भौतिक बजारसँगै डिजिटल (अनलाइन) प्लेटफर्ममार्फत पनि दैनिक उपभोग्य खाद्यवस्तु, पेय पदार्थ तथा लत्ताकपडा अवैध रूपमा बिक्री भइरहेको भन्ने उजुरी र जनगुनासोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।

सूचनामा उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ ले उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने अधिकार सुनिश्चित गरेको उल्लेख गर्दै कानुनविपरीत हुने मिसावट, चोरी पैठारी तथा कम गुणस्तरका वस्तुको कारोबार दण्डनीय अपराध भएको स्पष्ट पारिएको छ ।

विभागले बजार स्वच्छता कायम गर्ने सरकारी नीतिअनुसार उत्पादन, पैठारी, ढुवानी, सञ्चय तथा बिक्री-वितरणमा संलग्न सबै व्यवसायीलाई कानुनले तोकेका दायित्व, सर्त र बन्देजको पूर्ण पालना गर्न निर्देशन दिएको छ ।

साथै, बजार अनुगमनलाई अझ प्रभावकारी र तीव्र बनाइने जनाउँदै उपभोक्ताको स्वास्थ्य र अधिकारमाथि खेलबाड गर्ने तथा गैरकानुनी व्यापारमा संलग्न जोसुकै व्यवसायीलाई कानुनबमोजिम हदैसम्मको कारबाही गरिने विभागले चेतावनी दिएको छ ।