• Menu

धनुषा ट्राफिकद्वारा गत आर्थिक वर्षमा एक करोड १४ लाख राजस्व संकलन

नेपाल प्रफिट

२०८३ साउन ४, १३:५४

धनुषा ट्राफिकद्वारा गत आर्थिक वर्षमा एक करोड १४ लाख राजस्व संकलन

धनुषा । जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम, धनुषाले गत आर्थिक वर्ष २०८२/८३ मा एक करोड १४ लाख नौ हजार ५०१ राजस्व संकलन गरेको छ ।

प्रमुख प्रहरी निरीक्षक खगेन्द्रकुमार दाहालले  आव २०८२/८३ मा ट्राफिक नियम उल्लंघन गर्नेहरुबाट १२ हजार ६०३ सवारीसाधनमाथि कारबाही गर्दा एक करोड १४ लाख नौ हजार ५०१ राजस्व संकलन भएको जानकारी दिए ।

आव २०८१/८२ मा २८ हजार ५३८ सवारीसाधनमाथि कारबाही गर्दा दुई करोड २१ लाख १० हजार ५०० राजस्व संकलन गरेको  थियो ।

धनुषा जिल्लामा आव २०८२/८३ मा भएको एक हजार ३५८ सवारी दुर्घटनामा परी ८२ जनाको मृत्यु भएको छ भने दुई हजार १९८ जना घाइते भएका छन् ।

अघिल्लो आव २०८१/८२ मा धनुषामा एक हजार २२१ सवारी दुर्घटना हुँदा ८४ जनाको मृत्यु भएको थियो ।

पछिल्ला केही वर्षयता धनुषा जिल्लामा सवारी दुर्घटना बढे पनि दुर्घटनामा परी मृत्यु हुनेको संख्यामा कमी आएको देखिन्छ । सडकको नाजुक अवस्था, मानवीय लापर्वाहीलगायतका कारण बितेका वर्षमा सवारी दुर्घटना केही बढे पनि दुर्घटनामा मृत्यु हुनेको संख्या घटेको प्रहरी निरीक्षक दाहालले बताए ।

पछिल्ला वर्षमा ट्राफिक सचेतना र नियमित ट्राफिक चेकजाँचका कारण सवारी दुर्घटनामा कमी आएको प्रहरी निरीक्षक दाहालको दाबी छ ।