काठमाडौं । दिगो विकास र हरित बैंकिङ पद्धतिको प्रवर्धन गर्ने उद्देश्यसहित कुमारी बैंक लिमिटेड र मिनर्जी पहलबीच रणनीतिक सहकार्यसम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख लगानी तथा बजार व्यवस्थापन अधिकृत चन्दन कार्की र मिनर्जी पहलका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले हस्ताक्षर गरेका छन्। सहकार्यअन्तर्गत वातावरणमैत्री बैंकिङ अभ्यासलाई प्रोत्साहन गर्दै समुदाय र बैंक दुवैको क्षमता अभिवृद्धि गर्ने, हरित वित्तको पहुँच विस्तार गर्ने तथा दिगो विकाससँग सम्बन्धित विभिन्न क्षेत्रमा संयुक्त रूपमा काम गर्ने सहमति भएको बैंकले जनाएको छ।
कुमारी बैंकको दिगो बैंकिङ विभागका प्रमुख अर्पण पौडेलले अन्तर्राष्ट्रिय जलवायु वित्त र लक्षित उद्यमीबीचको दूरी कम गर्न समुदायको वास्तविक अवस्था तथा बैंकिङ जोखिमको गहिरो बुझाइ आवश्यक रहेको बताए । उनका अनुसार यो सहकार्यले क्षमता अभिवृद्धिलाई वास्तविक वित्तीय समावेशीकरणमा रूपान्तरण गर्न महत्वपूर्ण योगदान पुर्याउनेछ।
बैंकका अनुसार देशभर फैलिएको आफ्नो सेवा सञ्जालमार्फत यस पहललाई प्रभावकारी रूपमा कार्यान्वयन गरिनेछ । हाल कुमारी बैंकले २८६ शाखा, ३०४ नगद वितरण यन्त्र, ४० विस्तारित सेवा कक्ष, ४१ शाखारहित बैंकिङ एकाइ तथा एक हजार २३३ भुक्तानी यन्त्रमार्फत सेवा प्रदान गर्दै आएको छ ।
बैंकले यो सहकार्यले हरित वित्तको प्रवर्धन, दिगो आर्थिक विकास तथा स्वच्छ र जलवायु उत्थानशील भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।