• Menu
s

आजका ११ समाचार : सहकारीप्रतिको अविश्वासदेखि पश्चिम एसियाको द्वन्द्वसम्म

नेपाल प्रफिट

२०८३ जेठ १४, २०:४३


१. ‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२’ को प्रतिवेदनले वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग र कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास घटेको निष्कर्ष निकालेको छ । सरकारले सार्वजनिक गरेको प्रतिवेदनमा जथाभाबी दर्ता, राजनीतिक हस्तक्षेप र कमजोर सुशासन संकटको मुख्य कारण भएको उल्लेख छ । आयोगले एकीकृत नियामक संरचना, प्रभावकारी सूचना प्रणाली र बचतकर्ता हित संरक्षणलाई प्राथमिकता दिन सुझाव दिएको छ ।

२. मुलुकका १० औद्योगिक क्षेत्रमा सञ्चालित ६ सय ३८ उद्योगबाट २० हजार जनाले प्रत्यक्ष रोजगारी पाएको सरकारले जनाएको छ । बुधबार सार्वजनिक गरिएको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सातै प्रदेशमा सञ्चालित औद्योगिक क्षेत्रभित्र ७०६ उद्योगमध्ये ६ सय ३८ उद्योग सञ्चालनमा रहेका छन् । यस्तै, २६ उद्योग निर्माणाधीन, १६ बन्द र १६ वटा अन्य संघसंस्था छन् ।

४. पश्चिम एसिमा जारी युद्धका कारण इन्धन र निर्माण सामग्रीको मूल्य तीव्र बढेपछि निर्माण क्षेत्र संकटमा परेको भन्दै नेपाल उद्योग परिसंघले तत्काल समाधानको माग गरेको छ । मूल्यवृद्धिका कारण निर्माण व्यवसायीले हालसम्म १० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी बेहोरेको दाबी परिसंघले गरेको छ । परिसंघले निर्माण व्यवसायीमाथि परेको आर्थिक तथा मानसिक दबाब कम तत्काल नीतिगत सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

५. इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली केयरगिभरका लागि २ हजार ३ सय जनाको आवेदन खुलाइएको छ । वैदेशिक रोजगार विभागले जेठ १७ देखि असार ७ गतेसम्म अनलाइन आवेदन माग गरेको हो । छनोट भएका कामदारले मासिक करिब ३ लाख ४८ हजार रुपैयाँ तलब पाउनेछन् । आवेदनका लागि उमेर २५ देखि ४५ वर्ष, केयरगिभर तालिम तथा अंग्रेजी भाषा परीक्षण अनिवार्य गरिएको छ ।

६. रसुवामा निर्माणाधीन २ सय १६ मेगावाट क्षमताको माथिल्लो त्रिसूली–१ जलविद्युत् आयोजनाको वेयरगेट उद्घाटन गरिएको छ । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क थेयङले वेयरगेट उद्घाटन गर्दै आयोजना निर्माण अन्तिम चरणमा पुगेको बताएका हुन् । नेपालको सबैभन्दा ठूलो प्रत्यक्ष वैदेशिक लगानी रहेको यो आयोजना सन् २०२७ को मध्यसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । आयोजनामा कोरियाली कम्पनीहरूको मुख्य लगानी रहेको छ ।

७. खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तर मापदण्ड पूरा नभएको भन्दै ‘तेज’ ब्रान्डको तोरी तेल तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ । बजार अनुगमनका क्रममा परीक्षण गर्दा तेल न्यूनस्तरको पाइएपछि सम्बन्धित ब्याचका सबै उत्पादन बिक्री–वितरण रोक्न निर्देशन दिएको हो । सिद्धार्थ आयल इन्डस्ट्रीज, रुपन्देहीद्वारा उत्पादन गरिएको उक्त तेलको ब्याच नम्बर २० रहेको विभागले जनाएको छ ।

८. नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार सुनको मूल्य तोलामा ५५ सय रुपैयाँ घटेर २ लाख ८५ हजार रुपैयाँ कायम भएको छ । बुधबार सुनको मूल्य तोलाको २ लाख ९० हजार ५ सय रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २ सय १५ रुपैयाँ घटेर ४ हजार ८ सय ६५ रुपैयाँ पुगेको छ ।

९. नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक बुधबार काठमाडौँमा सम्पन्न भएको छ । कूटनीतिक सम्बन्धको ७० वर्ष पुगेको अवसरमा आयोजित बैठकमा दुई देशबीचको सम्बन्ध, विकास सहकार्य र बहुपक्षीय साझेदारीबारे समीक्षा गरिएको थियो । दुवै पक्षले सहयोग विस्तार तथा प्रस्तावित सम्झौताहरू शीघ्र निष्कर्षमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

१०. अमेरिका–इरानबीच पुनः बढेको तनावले अन्तर्राष्ट्रिय तेल बजारमा फेरि असर परेको छ । अमेरिकाले इरानमाथि नयाँ सैन्य कारबाही गरेपछि बिहीबार कच्चा तेलको मूल्य बढेको हो । ब्रेन्ट क्रुडको मूल्य १ दशमलव ८ प्रतिशतले बढेर प्रतिव्यारेल ९५ दशमलव नौ पाँच डलर पुगेको छ । हर्मुज जलडमरूमध्य क्षेत्रमा तनाव बढेसँगै ऊर्जा आपूर्ति र विश्व बजारप्रति चिन्ता थपिएको छ ।

११. मध्यपूर्वमा जारी द्वन्द्वको असर जापानी सवारी उद्योगमा देखिएको छ । टोयोटाको जापानबाट मध्यपूर्वतर्फ हुने सवारी निर्यात अप्रिलमा ९१ दशमलव ७ प्रतिशतले घटेर दुई हजार ४ सय १८ युनिटमा सीमित भएको कम्पनीले जनाएको छ । विश्वव्यापी बिक्री लगातार तेस्रो महिनासम्म घट्दै ८ लाख ४९ हजार युनिटमा पुगेको छ ।