• Menu

श्रमिकका समस्या समाधानका लागि श्रमाधान योजना घोषणा, यस्ता छन् ७ कार्यक्रम

नेपाल प्रफिट

२०८१ वैशाख १९, बुधबार १७:२२

श्रमिकका समस्या समाधानका लागि श्रमाधान योजना घोषणा, यस्ता छन् ७ कार्यक्रम

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम तथा रोजगारीसँग सम्बन्धित ‘श्रमाधान योजना’ घोषणा गरेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर मन्त्रालयले बुधबार श्रमाधान योजना घोषणा गरेको हो ।

मन्त्रालयमा आयोजित कार्यक्रममा श्रमाधान योजना घोषणा गर्दे श्रममन्त्री डोलप्रसाद अर्यालले श्रमाधान योजनाले नेपाल र विदेशमा रहेका नेपाली श्रमिकको सबै खालको समस्या एकद्वार प्रणालीबाट समाधान गर्ने दाबी गरे ।

‘मन्त्रालयले अहिले पनि कल सेन्टर सञ्चालन गरेको छ तर यसको काम सीमित भयो, त्यसैले बृहत् रुपमा श्रमिकको समस्या समाधानदेखि जिज्ञासा, सुझाव र गुनासोलाई सम्बोधन गर्ने गरी यो योजना सञ्चालन गरिएको हो,’ उनले भने ।

श्रमाधानको पहिलो चरणमा सातवटा क्षेत्रसँग सम्बन्धित कार्यक्रम समावेश गरिएका छन् । इन्द्रेणीका सात रगंसँग मेल खाने गरी प्रत्येक कार्यक्रमलाई एक विशेष रंगसँग जोडिएको छ, जसले प्रत्येक कार्यक्रमको उद्देश्य र महत्वलाई प्रतिविम्बित पनि गर्छ ।

श्रमाधान योजनाको पहिलो ‘सेकेन्ड इनिङ’ कार्यक्रम रहेको छ । जसले काममा सक्रिय रहने उमेर कटेपछि वा अवकाश भएपछि आफूसँग रहेको सीप कसरी प्रयोग गर्ने भन्ने विषयमा काम गर्ने मन्त्री अर्यालले बताए ।

दोस्रोमा ‘रोजगार बैंक’ रहेको छ । यसले रोजगारदाता र रोजगारी खोज्नेबीच समन्वय गर्नेछ । तेस्रोमा रहेको ‘समता’ कार्यक्रमले समानताको प्रत्याभूत गर्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए, जसमा विशेष समुदायलाई प्राथमिकता दिइनेछ ।

चौथोमा ‘ल’ कार्यक्रम छ । यस कार्यक्रममार्फत श्रमिकलाई कानुनी रूपमा सक्षम बनाउने उद्देश्य मन्त्रालयले राखेको छ । श्रमसम्बन्धी कानुन सबैले जानुन् भन्ने लक्ष्य रहेको मन्त्री अर्यालले बताए ।

अर्को ‘कनेक्ट’ कार्यक्रम रहेको छ । विश्व बजारको श्रमसँग नेपालको श्रमिकलाई प्रतिस्पर्धी बनाउने यसको उद्देश्य छ । अर्को ‘साथ’ कार्यक्रम रहेको छ । यसले विश्व बजारमा रहेका श्रमिकको साथमा नेपाल सरकार, मिडिया र कर्मचारी रहेको आभास गराउने लक्ष्य राखिएको छ ।

त्यस्तै, अर्को ‘कल सेन्टर’ कार्यक्रम छ । कल सेन्टरबाट समस्या, जिज्ञासा संकलन गरी सम्बन्धित निकायमा पुर्‍याएर समाधान गरिने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार श्रमाधान योजनाभित्रका सात कार्यक्रमलाई क्रमिक रुपमा सञ्चालनमा ल्याइनेछ । पहिलो चरणमा श्रमाधान कल सेन्टर सञ्चालन गरिने श्रममन्त्री अर्यालले बताए ।

श्रमाधान योजनाका सात क्षेत्र कार्यक्रम

सेकेन्ड इनिङ : अवकाशपछिको आरम्भ

श्रमाधान सेकेन्ड इनिङमा वैदेशिक रोजगारीबाट फर्किएका र नेपालमै अवकाश प्राप्त नागरिकको सीप, श्रम र अनुभवलाई पुनः सक्रिय बनाउन मद्दत गर्ने एक विशेष पहल हो । यस कार्यक्रमले सेनानिवृत्त व्यक्तिलाई अनुभव र कौशल प्रयोग गरी नयाँ रोजगारी, स्वयंसेवा वा उद्यमशीलताका विभिन्न अवसरमा संलग्न हुन सहयोग पुर्‍याउनेछ ।

रोजगार बैंक : पेसागत यात्राको सहयात्री

श्रमाधान रोजगार बैंकको उद्देश्य रोजगारदाता र रोजगारी खोज्नेबीचका बहुआयामिक पक्षको समन्वयतात्मक सेतु बनी आन्तरिक र विश्व श्रम बजारमा नेपाली श्रमिकको सुव्यवस्थित, सबल र बृहत् प्रतिनिधित्व गर्दै रोजगारीका अवसरलाई व्यापक बनाउनु हो । यस कार्यक्रमले श्रमिकलाई श्रम बजारमा प्रतिस्पर्धी हुन आवश्यक कौशलको विकास तथा पेसागत उन्नतिका लागि चाहिने स्रोत र साधन प्रदान गर्छ ।

समता : विविधताको एकता, श्रममा समता

श्रम क्षेत्रमा लैंगिक, भौगोलिक, वर्गीय, जातीय तथा अन्य कारणले मूलधारमा आउन नसकेका नागरिकको पहिचान गर्दै श्रमको उच्च सम्मानको संस्कृति विकास गर्ने र श्रमको प्रक्रिया वा अन्य चरणमा व्यक्तिको व्यक्तिगत हक तथा अधिकार सुनिश्चित गर्दै समानताको प्रत्याभूति गर्ने उद्देश्य श्रमाधान समता कार्यक्रमको छ । यसले विशेष आवश्यकता रहेको वर्ग तथा समुदायको हकमा खास सुविधा प्रदान गरेर समानताको प्रत्याभूति दिने कुरालाई पनि समेट्छ ।

: श्रमसम्बन्धी कानुन सबैले जानुन्

श्रमाधान ल श्रमिकलाई उनीहरुका कानुनी अधिकार र कर्तव्य बुझाएर श्रमको यात्रामा कानुनी रुपमा सुरक्षित बनाउने कार्यक्रम हो । यस कार्यक्रमले श्रमिकलाई श्रम कानुनका विभिन्न पक्षमा सुसूचित गराई भविष्यमा हुनसक्ने श्रम विवाद र यसका अदालती प्रक्रियाका लागि तयार गराउँछ । यो कार्यक्रम विशेष गरी श्रमिकमा कानुनी ज्ञान बढाउने र कामको स्थानमा सामना गर्नुपर्ने चुनौतीलाई सहजतापूर्वक समाधान गर्न मद्दत पुर्‍याउने ध्ययेका साथ ल्याइएको हो ।

कनेक्ट : भोलिको तयारी, आजैबाट

विश्व श्रम बजारको हरेक दिन बदलिँदो छ । यस परिस्थितिमा नेपालको श्रमशक्तिलाई विश्व श्रम बजारमा प्रतिस्पर्धी बनाउनुको विकल्प छैन । ग्लोबल ट्रेन्ड र चेन्जमा आधारित भएर श्रमको नयाँ विविधितासँग जोड्नु श्रमाधान कनेक्ट कार्यक्रमको उद्देश्य हो । यो कार्यक्रम नेपालबाट विदेश जाने श्रमिक, विदेशमा काम गरिरहेका नेपाली श्रमिक र गैरआवासीय नेपालीलाई एउटै धागोमा जोडेर नेपालीको दक्षता र विज्ञता विकासमा आधारित हुनेछ ।

साथ : हामी छौं

श्रमाधान साथ देशभित्र र विदेशमा काम गर्ने श्रमिक र उनीहरुका परिवारको मानसिक स्वास्थ्यलाई केन्द्रमा राखेर बनाइएको कार्यक्रम हो । यो कार्यक्रम तनाव व्यवस्थापन, मनोसामाजिक सहयोग र सांस्कृतिक समन्वय जस्ता श्रमिक र श्रमिकको परिवारको मानसिक स्वास्थ्यसम्बन्धी समस्या समाधान गर्न केन्द्रित हुनेछ ।

कल सेन्टर : समस्याहरुको सम्बोधन तुरुन्तै

श्रमाधान कल सेन्टर भन्नाले नेपालमा वा विदेशमा रहेका नेपाली श्रमिकको समस्या, जिज्ञासा र सुझावलाई विभिन्न माध्यमबाट संकलन गरी सम्बन्धित निकायसम्म पुर्‍याएर समाधान गर्ने सुविधा हो ।

श्रमाधानले श्रमिकको समस्या समाधानको प्रक्रिया

कुनै पनि श्रमिकले श्रमाधानमा विभिन्न माध्यमबाट कल गर्नेछन् । कल सेन्टरले समस्याको वर्गीकरण अभिलेखीकरण, सहजीकरण र स्थान्तरण गर्नेछ । कल सेन्टरले श्रमिकको समस्याको आधारमा सम्बन्धित निकाय जस्तै: वैदेशिक रोजगार विभाग, श्रम विभाग, सामाजिक सुरक्षा कोष, व्यावसायिक प्रशिक्षण केन्द्रलगायतका अन्य निकायका फोकल पर्सनसम्म पुर्‍याउनेछ ।

पहिलो चरण

श्रमाधान योजना क्रमिक रुपमा कार्यान्वयन हुँदै जानेछ । पहिलो चरणमा श्रमाधान कल सेन्टर हप्ताको सात दिन र २४ घण्टा उपलब्ध हुनेछ । समस्या समाधानका लागि कल सेन्टरले सम्बन्धित निकायका फोकल पर्सनसम्म पुर्‍याउनेछन् । त्यस्तै कल सेन्टरमा मिसकल आएको अवस्थामा पनि कल ब्याक गरिनेछ ।

दोस्रो चरण

दोस्रो चरणमा विदेशमा आधारित एसआईपी लाइन, आईभीआर (इन्टरएक्टिभ भ्वाइस रेस्पोन्स), आर्टिफिसियल इन्टेलिजेनसमा आधारित च्याट बट, भिडियो एक्सप्लेनर, टाइम कार्ड र कि पर्फर्मेन्स इन्डिकेटर प्रयोग सञ्चालनमा ल्याइनेछ ।

प्रतिक्रिया दिनुहोस्