• Menu

सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा आइएमई सम्मानित

नेपाल प्रफिट

२०८१ वैशाख १४, शुक्रबार १६:२२

सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा आइएमई सम्मानित

काठमाडौँ । सबैभन्दा बढी रेमिट्यान्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको छ । नेपाल राष्ट्र बैंकले ६९औँ वार्षिकोत्सवको अवसरमा आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स कम्पनीहरु मध्येबाट सबैभन्दा बढी २७.५ प्रतिशत रेमिट्यान्स भित्र्याउन सफल भएकोमा आइएमईलाई सम्मानित गरेको हो ।

राष्ट्र बैंकमा शुक्रबार आयोजित विशेष समारोहमा गभर्नर महाप्रसाद अधिकारीले आइएमई  लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेललाई प्रशंसा पत्र प्रदान गरेका छन् ।

विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाह्य क्षेत्र सन्तुलनसमेतमा योगदान पुर्‍याएकोले प्रशंसा पत्र प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रशंसा पत्र ग्रहण गर्दै आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत पौडेलले यो सम्मानबाट आफ्ना ग्राहकलाई भरपर्दो, सुरक्षित तथा अत्याधुनिक फिनटेक प्रविधिसहितको रेमिट्यान्स सेवा प्रदान गर्न आइएमई थप उत्साहित भएको बताए ।

नेपाल राष्ट्र बैंकले वार्षिकोत्सवको अवसरमा सर्वाधिक रेमिट्यान्स भित्र्याउने बैंक तथा रेमिट्यान्स कम्पनीहरूलाई सम्मानित गर्दै आएको छ ।

स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्‍याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २२औँ वर्षसम्ममा नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २२५ आइएमई सेन्टरसहित ७७ जिल्लाका करिब १२ हजार सब–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटोछरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आइरहेको छ ।

साथै परम्परागत रेमिट्यान्स सेवा डिजिटलाइजेसनमा प्रवेश गरिरहेको अवस्थालाई आत्मसात् गर्दै आइएमईले पाँच वर्षदेखि डिजिटल कारोबारलाई राष्ट्र बैंकमार्फत नेपालको पहिलो भुक्तानी सेवाप्रदायकको रूपमा लाइसेन्स प्राप्त गरी आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित ‘आइएमई पे’ मोबाइल वालेटमार्फत डिजिटल रेमिट्यान्स सेवा सफलताका साथ सञ्चालन गरिरहेको छ ।

यसअन्तर्गत सेवाग्राहीले विश्वको जुनसुकै देशबाट आइएमई गरी पठाएको पैसा सजिलै आफ्नो मोबाइलको आइएमई पे एपमा प्राप्त गर्न सक्ने भएका छन् । आइएमई  पे ले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरण तथा डिजिटल नेपालको अभियानमा योगदान पुर्‍याउने लक्ष्य लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्