• Menu

धुलिखेलमा ‘काठमाडौं-धुलिखेल मैत्री पार्क’ बन्ने, ७ करोडको लागतमा ३ वर्षभित्र सम्पन्न गरिने

नेपाल प्रफिट

२०८३ मंसिर ९, बुधबार १२:४०

धुलिखेलमा ‘काठमाडौं-धुलिखेल मैत्री पार्क’ बन्ने, ७ करोडको लागतमा ३ वर्षभित्र सम्पन्न गरिने

काभ्रे । काठमाडौं महानगरपालिका र धुलिखेल नगरपालिकाले धुलिखेल क्षेत्रमा पर्यटन प्रवर्धन र स्थानीय आर्थिक गतिविधि विस्तार गर्न मैत्री पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोही सिलसिलामा धुलिखेल नगरपालिका-७ स्थित पार्कलाई थप व्यवस्थित र सुविधासम्पन्न बनाउन दुवै पालिकाबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोल र धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जङ्गमबीच मंगलबार हस्ताक्षर भएको छ ।

सम्झौतामा उक्त पार्कलाई पारिवारिक मनोरञ्जन तथा विश्रामका लागि आकर्षक गन्तव्यका रूपमा विकास गर्ने योजना रहेको छ । पार्क निर्माणका लागि सात करोड बजेट आवश्यक पर्ने पूर्वानुमान गरिएको छ ।

३ वर्षभित्र आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको सम्झौताअनुसार चालु आर्थिक वर्षमा एक करोड खर्च गरिने छ । पार्क निर्माणले धुलिखेलमा आन्तरिक पर्यटकको आकर्षण बढाउने तथा स्थानीय आर्थिक गतिविधिमा चलायमान बनाउन सहयोग पुग्ने  कार्यवाहक प्रमुख जङ्गमले विश्वास व्यक्त गरे ।

उनले सम्झौताले दुई नगरपालिकाबीचको संस्थागत सहकार्य र  नागरिकबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने विश्वास समेत व्यक्त गरे । रासस