महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकास्थित बिग्ही नदी किनारमा नेपाल र भारतका नागरिकले संयुक्त रूपमा छठ पर्व मनाउन झन्डै दुई किलोमिटर लामो घाट तयार पारेका छन्।
सांस्कृतिक परम्पराले एकअर्कासँग जोडिएका दुवै देशका नागरिकले आपसी सद्भाव र सहकार्यका साथ छठ मनाउँदै आएको यो घाट उदाहरणीय बनेको मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले बताए।
बिग्ही नदीको दुवै किनारमा निर्माण गरिएको यो संयुक्त घाटमा नेपालतर्फ महोत्तरीको मटिहानी र धनुषाको तुलसीयाही तथा भारततर्फ मधवापुर र रामपुरका व्रतालु सहभागी हुने गरेका छन्।
‘सीमाले दुई देश छुट्याए पनि दुवै देशबीचको सांस्कृतिक सम्बन्ध प्रगाढ छ। छठ नेपाल र भारतका नागरिकले एउटै घाटमा मनाउने परम्परा हामीले बसालेका छौँ। यो आपसी सम्बन्धको अनुपम दृष्टान्त हो,’ नगरप्रमुख मण्डलले भने।
घाट निर्माणमा लाग्ने खर्चसमेत दुवै देशका नागरिकले बराबरी व्यहोर्ने गरेका छन्। भारतको मधुवनी जिल्लाअन्तर्गत मधवापुर ग्रामपञ्चायतका सरपञ्च बलराम झाले राष्ट्रियताले छुट्याए पनि दुवै देशका नागरिकबीच भाषा, संस्कृति र परम्परा साझा रहेको बताए।
नेपाली भाषामै कुराकानी गर्ने झाले भने, ‘दशगजाले हाम्रो राष्ट्रियता छुट्याएको छ, तर हाम्रा भाषा, संस्कृति, परम्परा र चाडपर्व साझा छन्।’
मानवीय संवेदना र सांस्कृतिक परम्पराका विषयमा नेपाली र भारतीय भनेर छुट्याउन नसकिने उनको भनाइ छ।
नेपाल र भारतका सीमावर्ती क्षेत्रका बासिन्दाले केही वर्षयतादेखि बिग्ही नदी किनारको एउटै घाटमा सँगै छठ मनाउँदै आएका छन्। यसले दुई देशका नागरिकबीच सांस्कृतिक सम्बन्ध मात्र नभई आपसी दुःखसुखमा समेत साथ दिने परम्परा विकास गरेको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस)का प्राचार्य हेमनारायण लाल कर्णले बताए।
संयुक्त छठ घाटमा दुवै देशका कलाकारले मिलेर सांस्कृतिक कार्यक्रमसमेत आयोजना गर्ने गरेका छन्। यस क्षेत्रका सर्वसाधारणका लागि छठ पर्व आपसी सद्भाव, एकता र सांस्कृतिक घुलमिलको विशेष अवसर बन्ने गरेको छ।
चार दिनसम्म मनाइने महापर्व छठ यस वर्ष आज ‘नहाय-खाय’ विधिबाट सुरु भएको छ। शनिबार खरना, आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिने सझिया घाट र सोमबार उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पारन विधिसँगै पर्व समापन हुनेछ।