काठमाडौं। कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक र बलरहरूको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ।
लिग चरणको आफ्नो अन्तिम खेलमा सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो।
लगातार दोस्रो खेलमा कम स्कोर रक्षा गर्दै सुदूरपश्चिमले शानदार जित निकालेको हो।
लिग चरणका सातवटै खेल खेलेको सुदूरपश्चिमले १० अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। शीर्ष दुईमा रहने उसको सम्भावना पनि बलियो बनेको छ। अब लुम्बिनी लायन्स वा काठमाडौं गोर्खाजमध्ये कुनै एक टोली आफ्नो अन्तिम खेलमा पराजित भए सुदूरपश्चिम शीर्ष दुईमा रहने निश्चित हुनेछ।
यता, लगातार चार खेल जितेको काठमाडौंले पहिलो हार बेहोरेको छ। काठमाडौं ६ खेलबाट आठ अंकसहित तेस्रो स्थानमा छ। उसले आइतबार पोखरा एभेन्जर्ससँग लिग चरणको अन्तिम खेल खेल्नेछ। उक्त खेल जितेमा काठमाडौंसँग शीर्ष दुईमा रहँदै पहिलो क्वालिफायर खेल्ने अवसर कायम रहनेछ।
काठमाडौँका लागि रासिद खानले अविजित रहँदै सर्वाधिक ३५ रन बनाए। उनले ३१ बलमा पाँच चौका प्रहार गरे। दुसान हेमन्थाले २१ रनको योगदान दिए।
४८ रनमा पाँच विकेट गुमाएको काठमाडौंको इनिङ्स रासिद र हेमन्थाले सम्हाल्ने प्रयास गरेका थिए। उनीहरूबीच छैटौँ विकेटका लागि ३४ रनको साझेदारी भएको थियो। रासिद अन्तिमसम्म क्रिजमा रहे पनि टोलीलाई जिताउन सकेनन्।
ओपनर साम हिजलेटले ११, आदिल आलमले आठ, सन्तोष यादवले १० र कप्तान करण केसीले आठ रन बनाए। ओपनिङमा आएका भीम सार्की र सहान अराचिगेले भने खाता खोल्न सकेनन्।
सुदूरपश्चिमका लागि अनिल खरेलले दुई विकेट लिए। स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलनले समान एक विकेट हात पारे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १२५ रन बनाएको थियो।
सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६० रन बनाए। उनले ५५ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। थरिन्दु रत्नायकेले अविजित २६ तथा आरिफ शेखले १६ रन जोडे।
आठ रनमै चार विकेट गुमाएर संकटमा परेको सुदूरपश्चिमको इनिङ्स दीपेन्द्रले सम्हालेका थिए। उनले पाँचौँ विकेटका लागि आरिफ शेखसँग ५४ रनको महत्त्वपूर्ण साझेदारी गरे। आरिफले २५ बलमा एक चौका प्रहार गरे।
त्यसपछि दीपेन्द्रले थरिन्दु रत्नायकेसँग छैटौँ विकेटका लागि पनि ५४ रनको साझेदारी गरे। थरिन्दुले २३ बलमा तीन चौका प्रहार गर्दै अविजित २६ रन बनाए।