• Menu

आर्थिक अभाव चिर्दै टर्कीमा कसरी तयार भयो नेपाल पेभेलियन ? ४७ भन्दा बढी कार्यक्रममार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालका मुद्दा छाउँदै

नेपाल प्रफिट

२०८३ कात्तिक २७, शुक्रबार १६:११

आर्थिक अभाव चिर्दै टर्कीमा कसरी तयार भयो नेपाल पेभेलियन ? ४७ भन्दा बढी कार्यक्रममार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालका मुद्दा छाउँदै

अन्ताल्या । जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेका विपद्, जलवायु अन्याय र अनुकूलनका प्रयासलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्न कोप-३१ मा स्थापना गरिएको नेपाल पेभेलियन प्रभावकारी मञ्च बनेको छ।

टर्कीको अन्ताल्यामा कात्तिक २३ गतेदेखि जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपालले आफ्नै पेभेलियनमार्फत जलवायु संकट, प्रभावित समुदायका समस्या र अनुकूलनका सफल अभ्यासबारे विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।

नेपालमा पछिल्लो समय भोटेकोसीलगायतका क्षेत्रमा जलवायुजन्य विपद्ले पुर्‍याएको क्षति र त्यसबाट उत्पन्न चुनौतीलाई विश्व समुदायसमक्ष पुर्‍याउनुपर्ने आवश्यकता महसुस भएपछि छुट्टै पेभेलियन स्थापना गरिएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ।

मन्त्रालयको जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका अनुसन्धान अधिकृत तथा नेपाल पेभेलियनका फोकल पर्सन प्रकाश लामिछानेका अनुसार संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलनका साइड इभेन्टमार्फत मात्र नेपालका समस्या, अनुभव र अनुकूलनका प्रयास पर्याप्त रूपमा प्रस्तुत गर्न कठिन हुने देखिएपछि छुट्टै पेभेलियनको अवधारणा अघि बढाइएको हो।

पेभेलियन स्थापनाका लागि सुरुमा आर्थिक स्रोत जुटाउनु चुनौतीपूर्ण बनेको थियो। आवश्यक स्थानको भाडा मात्रै करिब डेढ करोड रुपैयाँ पर्ने अनुमान गरिएको थियो। सरकारी स्रोतबाट तत्काल उक्त रकम व्यवस्थापन गर्न कठिन भएपछि नेपालले टर्की सरकारसँग स्थान उपलब्ध गराउन अनुरोध गरेको थियो।

नेपालको अनुरोधपछि टर्की सरकारले करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको पेभेलियनस्थल निःशुल्क उपलब्ध गराएको लामिछानेले बताए।

पेभेलियनको कुल क्षेत्रफल ४८ वर्गमिटर छ। यसमा कार्यालय प्रयोजनका लागि छुट्टै कोठा र बाहिर करिब ३० जना सहभागी अट्ने क्षमताको कार्यक्रमस्थल बनाइएको छ।

स्थान निःशुल्क प्राप्त भए पनि सजावट तथा आवश्यक पूर्वाधार व्यवस्थापन अर्को चुनौती बनेको थियो। संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) र कोप आयोजक समितिको व्यवस्थापनमार्फत सजावट गर्दा करिब एक लाख अमेरिकी डलर खर्च हुने प्रारम्भिक अनुमान गरिएको थियो।

ठूलो रकम जुटाउन कठिन भएपछि आयोजकले अन्ताल्याका स्थानीय बजारबाट कुर्सी, टेबललगायत आवश्यक सामग्री खरिद गरी पेभेलियन व्यवस्थापन गरेको लामिछानेले जानकारी दिए। यसरी व्यवस्थापन गर्दा अनुमानित खर्चको करिब ६० प्रतिशत लागतमा काम सम्पन्न गर्न सम्भव भएको उनको भनाइ छ। यसका लागि विकास साझेदार तथा जलवायु परिवर्तनको क्षेत्रमा कार्यरत विभिन्न संस्थाले सहयोग गरेका छन्।

नेपाल पेभेलियनको औपचारिक उद्घाटन नोभेम्बर ९ मा गरिएको थियो। यद्यपि, तयारीका लागि नेपाली टोली नोभेम्बर ३ देखि नै अन्ताल्यामा खटिएको थियो। आवश्यक सामग्री ढुवानी, जडान, व्यवस्थापन तथा प्राविधिक तयारीका क्रममा भाषागत कठिनाइसमेत सामना गर्नुपरेको लामिछानेले बताए।

सम्मेलन अवधिभर नेपाल पेभेलियनमा दैनिक चारदेखि छ वटासम्म कार्यक्रम सञ्चालन गर्ने गरी ४७ देखि ४८ वटा कार्यक्रम तय गरिएको छ। ती कार्यक्रममार्फत नेपालको जलवायु संकट, विपद् जोखिम, अनुकूलनका अभ्यास, जलवायु वित्त, हिमाली क्षेत्रका समस्या तथा जलवायु न्यायका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, नीतिनिर्माता र सरोकारवालाबीच छलफल भइरहेको छ।

लामिछानेका अनुसार नेपाल पेभेलियन कार्यक्रम आयोजना गर्ने स्थलमा मात्र सीमित छैन। जलवायु परिवर्तनबाट बढी प्रभावित मुलुकका रूपमा नेपालले भोगिरहेका समस्या, तिनको न्यूनीकरणका लागि भइरहेका प्रयास र अन्तर्राष्ट्रिय समुदायको दायित्वबारे आवाज उठाउने साझा मञ्चसमेत बनेको छ।

नेपालले आफ्ना अनुभव, समस्या र जलवायु अनुकूलनका सफल अभ्यासलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न तथा राष्ट्रिय प्रयासलाई विश्वव्यापी बहससँग जोड्न पेभेलियनले महत्वपूर्ण अवसर प्रदान गरेको छ।

सम्बन्धित समाचार