काठमाडौं । सूर्यदेव र नदीको श्रद्धापूर्वक पूजा, आराधना गरी मनाइने चारदिने छठ पर्व आजदेखि सुरु भएको छ। पछिल्ला वर्षमा काठमाडौं उपत्यकामा छठ पर्व मनाउनेको संख्या बढ्दै गएपछि यस वर्ष विभिन्न स्थानमा घाट निर्माण तथा व्यवस्थापन गरिएको छ।
छठ पर्वका लागि राजधानीका विभिन्न नदीकिनार तथा पोखरीमा व्रतालुहरू घाटको स्थान सुरक्षित गर्न व्यस्त छन्। काठमाडौंमा करिब डेढ दर्जन स्थानमा भव्य रूपमा छठ पर्व मनाउने तयारी गरिएको छ।
छठ पूजा समिति गुह्येश्वरीका अनुसार गौरीघाटदेखि गुह्येश्वरीसम्मको वाग्मती नदीकिनारमा यस वर्ष ६०० वटा छठ घाट निर्माण गरिएको छ। समितिका अध्यक्ष अनिल सिंहका अनुसार गत वर्ष उक्त क्षेत्रमा ५५० घाट निर्माण गरिएकामा यस वर्ष माग बढेपछि थप ५० वटा घाट थपिएको हो।
निर्माण गरिएका सबै घाट भाइटीकाअघि नै बुक भइसकेका छन्। घाटको माग अझै बढिरहेको अध्यक्ष सिंहले जानकारी दिए। उनका अनुसार गौरीघाटदेखि अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको कार्यालयअघिसम्म नदीकिनारमा घाट निर्माण गरिएको छ।
दुई दशकअघिसम्म काठमाडौँमा मुख्यतः मधेसी समुदायले मात्र छठ पर्व मनाउने गरेकामा पछिल्लो समय अन्य समुदायको सहभागितासमेत बढ्दै गएको छ। समितिको अभिलेखअनुसार अहिले छठ मनाउनेमध्ये करिब २१ प्रतिशत मधेसी समुदायबाहिरका रहेका छन्।
कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वको पहिलो दिन आज व्रतालुले स्नान गरी चोखो खाना खाने परम्परा छ। यस दिनलाई ‘अरबा’ वा ‘अरबाइन’ भनिन्छ।
छठ पर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर र मुसुरोजस्ता खाद्यपदार्थ सेवन गर्दैनन्। मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासका साथ विशेषगरी महिलाले कठोर व्रत बस्ने गर्छन्।
पञ्चमीका दिन निर्जल उपवास बसेर साँझ घरमा खीर पकाई चन्द्रमालाई अर्पण गरी प्रसाद ग्रहण गरिन्छ। यस विधिलाई ‘खरना’ भनिन्छ।
छठ पर्वबारे जानकारी दिँदै आएका रणेन्द्र कुशवाहाका अनुसार षष्ठीका दिन ठेकुवा, फलफूल, मिठाई र रोटी सूर्यदेव तथा छठी मातालाई अर्पण गरिन्छ। पक्वान्न, फलफूल र नरिवललाई बाँसको टोकरीमा सजाएर साँझ नदी वा पोखरीकिनारमा लगिन्छ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर पूजा गर्ने र रातभर घाटमै बसेर जाग्राम बस्ने परम्परा छ। सप्तमीका दिन बिहानैदेखि व्रतालुले उदाउँदो सूर्यको प्रतीक्षा गरी गाईको दूध, फूल र जलले अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ। बिहान घाटमा गरिने यस पूजालाई ‘भिन्सरघाट’ भनिन्छ।
छठ पर्वमा सूर्यको उपासना गरी परिवारको सुख, शान्ति, पति-पत्नीको दीर्घायु तथा सन्तान प्राप्तिको कामना गर्ने परम्परा छ।
छठ पूजा समिति गुह्येश्वरीका उपाध्यक्ष राजकुमार पोद्दारका अनुसार सन्तान प्राप्तिको कामना गर्दै व्रत बस्नेको संख्या बढिरहेको छ। छालासम्बन्धी रोगबाट मुक्ति पाउने विश्वासका साथ व्रत बस्नेहरू पनि उल्लेख्य रहेको उनले बताए।
धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार कार्तिक शुक्ल पक्षमा सूर्यको पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने र इच्छित फल प्राप्त हुने धार्मिक मान्यता रहेको छ।
छठ पर्वमा हिन्दू धर्मावलम्बीका अतिरिक्त मुस्लिम, बौद्ध र जैन धर्मावलम्बीको समेत सहभागिता रहने गरेको छ। कमलपोखरी र गुह्येश्वरीलगायतका घाटमा विभिन्न धर्मावलम्बीले सूर्यदेवको पूजा तथा आराधना गर्ने गरेका छन्। यसले छठ पर्वलाई धार्मिक सहिष्णुताको प्रतीकका रूपमा समेत स्थापित गरेको छ।
छठ पर्वको सुरुआतबारे विभिन्न धार्मिक तथा पौराणिक मान्यता प्रचलित छन्। महाभारतकालमा पाण्डवहरू अज्ञातवासमा रहँदा द्रौपदीसहित सूर्यदेवको पूजा तथा आराधना गरेको र त्यसकै प्रभावले अज्ञातवास सफल भएको विश्वासका आधारमा यो पर्व सुरु भएको एकथरी मत छ।
त्यस्तै, सूर्य पुराणअनुसार अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको र त्यसबाट अटल सौभाग्य तथा पतिप्रेम प्राप्त गरेको धार्मिक विश्वास पनि रहेको छ।
विशेषगरी तराई मधेसमा मनाइँदै आएको मिथिला संस्कृतिमा आधारित छठ पर्व विसं २०४६ पछि काठमाडौँलगायत पहाडी क्षेत्रमा विस्तार हुँदै गएको हो। सरकारले पनि विसं २०४६ देखि छठ पर्वका अवसरमा सार्वजनिक बिदा दिन थालेको हो।
काठमाडौँका गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, थापाथली, टेकु, वंशीघाट र बल्खुलगायत स्थानमा छठ घाट निर्माण तथा सजावटको काम भइरहेको छ।
गुह्येश्वरी क्षेत्रमा वाग्मती नदीको सफाइ तथा किनार सम्याउने काम अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सम्पन्न गरेको छ। कमलपोखरीमा पनि छठ घाट निर्माण भइरहेको समितिका अध्यक्ष राजेन्द्र सिंहले जानकारी दिएका छन्।
यस वर्ष कात्तिक २९ गते आइतबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलले गुह्येश्वरी र कमलपोखरी क्षेत्रमा छठ पर्वको अवलोकन तथा विशेष पूजामा सहभागी हुने कार्यक्रम रहेको छ।
कात्तिक २९ गते साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने कात्तिक ३० गते बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि चारदिने छठ पर्व विधिवत् सम्पन्न हुनेछ। रासस
Copyright © Nepal Profit - 2026 / Developed By Webtech Nepal