बाँके । नेपालमा जेसीबी निर्माण तथा हेभी इक्विपमेन्टको आधिकारिक विक्रेता एम.ए.डब्ल्यू. अर्थमुभर्स प्रा. लि.ले पश्चिम नेपालका ग्राहकलाई लक्षित गर्दै नेपालगञ्जमा नयाँ जेसीबी एग्रिम्याक्स मेसिन सार्वजनिक गरेको छ।
कम्पनीले होटल सिद्धार्थ, नेपालगन्जमा आयोजना गरेको ‘प्रगतिका साझेदार’ (Partner in Progress) कार्यक्रममा २५० भन्दा बढी ग्राहक, व्यावसायिक साझेदार तथा उद्योग क्षेत्रका प्रतिनिधिको उपस्थितिमा उक्त मेसिन सार्वजनिक गरेको हो।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका केन्द्रीय समिति सदस्य टेकबहादुर खत्री, महासंघ बाँकेका अध्यक्ष लीलाराज उपाध्याय, महासंघ बर्दियाका वरिष्ठ उपाध्यक्ष विमल केसी, महासंघका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष कर्ण मल्ल र एम.ए.डब्ल्यू. अर्थमुभर्सका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले संयुक्त रूपमा जेसीबी एग्रिम्याक्सको अनावरण गरेका थिए।
जेसीबी एग्रिम्याक्स विभिन्न सामग्रीको ओसारपसार तथा व्यवस्थापनका लागि तयार पारिएको बहुउपयोगी मेसिन हो। यसमा बेल ह्यान्डलर, उच्च क्षमताका सोभेल र क्ल्याम्पलगायत आवश्यकताअनुसार परिवर्तन गर्न मिल्ने उपकरण जडान गर्न सकिन्छ।
कृषि, प्लाइउड उद्योग, रेडी मिक्स कंक्रिट, क्रसर उद्योग, ढुंगा, गिट्टी तथा बालुवा डिपो, उखु र कोइला उद्योगका साथै मेसिन भाडामा उपलब्ध गराउने व्यवसायमा समेत यसको प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
कार्यक्रममा जेसीबी ३ डीएक्स सुपर, जेसीबी २२५ एलसीएम एक्साभेटर तथा जेसीबी जेनेरेटर पनि प्रदर्शनीमा राखिएका थिए। ती उपकरणमार्फत निर्माण, माटो खन्ने तथा ओसारपसार गर्ने र विद्युत उत्पादनसम्बन्धी विभिन्न आवश्यकताका लागि कम्पनीका उत्पादन प्रस्तुत गरिएको थियो।
कार्यक्रमको अर्को विशेष आकर्षणका रूपमा १० जना ग्राहकलाई जेसीबी मेसिन हस्तान्तरण गरिएको थियो। कम्पनीका प्रमुख कार्यकारी अधिकृत तेजप्रसाद सुवेदीले ग्राहकलाई मेसिनको साँचो हस्तान्तरण गरेका थिए।
एकै कार्यक्रममा १० जना ग्राहकलाई मेसिन हस्तान्तरण गरिनुले पश्चिम नेपालमा जेसीबी उत्पादनप्रति ग्राहकको चासो र कम्पनीसँगको व्यावसायिक साझेदारीलाई प्रतिबिम्बित गरेको कम्पनीले जनाएको छ।
नयाँ मेसिन सार्वजनिक तथा ग्राहकलाई हस्तान्तरण गर्ने कार्यक्रममार्फत पश्चिम नेपालमा कृषि, निर्माण तथा औद्योगिक क्षेत्रमा आवश्यक आधुनिक उपकरणको पहुँच विस्तार गर्ने लक्ष्य कम्पनीले लिएको छ।