काठमाडौं । नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा-सिस्नेखोला सुरुङबाट यात्रा गर्न आवश्यक पर्ने आरएफआईडी प्रविधिमा आधारित एन-ट्याग सानिमा बैंकबाट लिन सकिने भएको छ । सानिमा बैंकका देशभरका कुनै पनि शाखाहरूबाट एन-ट्याग सुविधा लिन सकिने भएको हो ।
सडक बोर्ड नेपालद्वारा सञ्चालित यस सुरुङमार्गमा टोल भुक्तानीका लागि विद्युतीय टोल संकलन प्रणाली लागू गरिएको छ । सवारी साधनको अगाडिको सिसामा टाँसिने एन-ट्याग स्टिकरलाई प्रवेश तथा निकास गेटमा जडान गरिएको यन्त्रले स्वतः पहिचान गर्ने र टोल रकम सम्बन्धित ट्यागबाट आफैं कट्टा भई गेट खुल्ने हुँदा यात्रुले लाइनमा पर्खनु पर्दैन । यसबाट यात्रुले झन्झटरहित र छिटो यात्राको अनुभव पाउने बैंकको विश्वास छ ।
सवारीधनीले बैंकका जुनसुकै शाखामा गई एन-ट्याग लिन सक्नेछन । एन-ट्यागमा ईसेवा, फोनपे हब तथा बैंकको मोबाइल बैंकिङ सेवाबाट रिचार्ज गर्न सकिनेछ । बैंकले यो सेवा काठमाडौंभित्र मात्र नभई देशभरका शाखा सञ्जालमार्फत उपलब्ध गराएको जनाएको छ, जसले गर्दा उपत्यकाबाहिरका सवारीधनीले समेत आफ्नै नजिकको शाखाबाट सहजै एन-ट्याग जडान गर्न सक्नेछन् ।
‘नागढुंगा सुरुङमार्गजस्तो राष्ट्रिय पूर्वाधारमा डिजिटल भुक्तानीको सहजीकरण गर्न पाउनु हाम्रा लागि गौरवको विषय हो । आफ्नो फराकिलो शाखा सञ्जालमार्फत सर्वसाधारणसम्म यो सेवा पुर्याउन सानिमा बैंक प्रतिबद्ध छ,’ बैंकका प्रमुख निक्षेप अधिकृत हेमराज संज्यालले भने ।