• Menu

नेपाल बैंकको क्रेडिट कार्डबाट १८ महिनासम्म ब्याजरहित किस्तामा सामान किन्न सकिने

नेपाल प्रफिट

२०८३ कात्तिक १८, बुधबार १६:३३

नेपाल बैंकको क्रेडिट कार्डबाट १८ महिनासम्म ब्याजरहित किस्तामा सामान किन्न सकिने

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ९०औँ वार्षिकोत्सवको अवसरमा ग्राहकका लागि क्रेडिट कार्डमार्फत किस्ताबन्दीमा सामान खरिद गर्न सकिने सुविधा सुरु गरेको छ।

बैंकले फिन्टारा सोलुसन्स प्रा.लि.सँग सम्झौता गरी बीएनपीएल (BNPL) प्लेटफर्ममा आबद्ध हुँदै ‘बाइ नाउ पे लेटर’ (Buy Now Pay Later) सुविधा सञ्चालनमा ल्याएको हो।

सम्झौताअनुसार नेपाल बैंकको क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले उक्त सुविधामार्फत १८ महिनासम्मको किस्ताबन्दीमा सामान खरिद गर्न सक्नेछन्। यस सुविधाअन्तर्गत सामान खरिद गर्दा ग्राहकलाई कुनै ब्याज तथा सेवा शुल्क नलाग्ने बैंकले जनाएको छ।

नेपाल बैंक लिमिटेडको प्रधान कार्यालय काठमाडौंमा गत कात्तिक १६ गते आयोजित कार्यक्रममा बैंकका प्रमुख कर्जा अधिकृत प्रदीपकुमार पाठक र फिन्टारा सोलुसन्सका कार्यकारी निर्देशक आशिषकुमार शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए।

नेपाल बैंक लिमिटेड आगामी कात्तिक ३० गते ९०औँ वर्षमा प्रवेश गर्दैछ। बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा जोड दिँदै युवा जनशक्तिमार्फत देशभर बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

दक्ष व्यवस्थापन, युवा जनशक्ति र आधुनिक प्रविधिको समुचित प्रयोगसँगै आम नेपालीमाझ नेपालको पहिलो बैंक नेपाल बैंकप्रतिको आकर्षण दिनप्रतिदिन बढ्दै गएको बैंकले जनाएको छ।