काठमाडौं । शशिला मोटर्स प्रा.लि.ले आयोजना गरेको चारदिने निःशुल्क सेवा शिविर सम्पन्न भएको छ। काठमाडौंको कलंकी मैत्रीनगरस्थित शशिला सेवा केन्द्रमा सञ्चालित शिविरबाट हाइगर, किटोन, फराइजनलगायत ब्रान्डका सयभन्दा बढी विद्युतीय सवारीसाधनका ग्राहक लाभान्वित भएका छन्।
कम्पनीका अनुसार विद्युतीय सवारीसाधनको मर्मतसम्भारमा केन्द्रित शशिला सेवा केन्द्र आधुनिक प्रविधि र सुविधासम्पन्न पूर्वाधारसहित सञ्चालनमा रहेको छ। केन्द्रमा २० वटा सेवा कक्ष र ३० भन्दा बढी दक्ष प्राविधिकमार्फत सेवा प्रदान गरिँदै आएको छ। साथै, यहाँ उच्च प्रविधियुक्त ब्याट्री मर्मत केन्द्रसमेत रहेको छ।
केन्द्रबाट विद्युतीय सवारीसाधनमा देखिने सामान्यदेखि जटिल समस्यासम्मको समाधान उपलब्ध गराइँदै आएको कम्पनीले जनाएको छ।
शशिला सेवा केन्द्रका सेवा प्रमुख बिन्देशमान सिंह डंगोलले विद्युतीय सवारीसाधनको प्रभावकारी मर्मतसम्भारबारे चर्चा भइरहेका बेला आयोजित शिविरले बिक्रीपछिको सेवा र विश्वसनीयताप्रतिको ग्राहकको भरोसा थप मजबुत बनाउन सहयोग गरेको बताए ।
ग्राहकलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले दशैं बिदा तथा शनिबारसमेत सेवा केन्द्र खुला रहने उनले जानकारी दिए ।
त्यस्तै, शशिला मोटर्सका निर्देशक सचिन कायस्थले कम्पनीको प्राथमिकता विद्युतीय सवारीसाधन बिक्रीमा मात्र सीमित नरहेको स्पष्ट पारे। बिक्रीपछिको सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै उनले आगामी दिनमा सेवालाई थप प्रभावकारी र गुणस्तरीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे ।
विद्युतीय सवारीसाधन प्रयोगकर्तालाई सहज, विश्वसनीय र गुणस्तरीय मर्मतसम्भार सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरले ग्राहकलाई आवश्यक प्राविधिक सेवा प्रदान गर्नुका साथै बिक्रीपछिको सेवाप्रति कम्पनीको प्रतिबद्धता उजागर गरेको छ ।