• Menu

सिटिजन्स बैंकद्वारा जुम्लाको सरस्वती माध्यमिक विद्यालयका ३०० विद्यार्थीलाई न्यानो स्वेटर वितरण

नेपाल प्रफिट

२०८३ असोज २६, सोमबार १५:३३

सिटिजन्स बैंकद्वारा जुम्लाको सरस्वती माध्यमिक विद्यालयका ३०० विद्यार्थीलाई न्यानो स्वेटर वितरण

काठमाडौं, असोज २६ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत जुम्लाको पातारासी गाउँपालिका–७ स्थित रिनीमा रहेको सरस्वती माध्यमिक विद्यालयका तीन सय विद्यार्थीलाई न्यानो स्वेटर वितरण गरेको छ।

बैंकको जुम्ला शाखामार्फत विद्यालयमा आयोजित एक समारोहबीच विद्यार्थीलाई स्वेटर हस्तान्तरण गरिएको हो। ग्रामीण क्षेत्रका विपन्न परिवारका विद्यार्थीलाई जाडो मौसममा विद्यालय आउन सहज बनाउने उद्देश्यले स्वेटर वितरण गरिएको बैंकले जनाएको छ।

यस पहलबाट ग्रामीण क्षेत्रका विद्यार्थीको शैक्षिक गतिविधिमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ। बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

बैंकले सामाजिक उत्तरदायित्वका साथै ग्राहकलाई आधुनिक र सहज बैंकिङ सेवा उपलब्ध गराउन विभिन्न नवीन सेवा तथा सुविधा पनि सञ्चालन गर्दै आएको छ।

विश्वका प्रतिष्ठित अवार्डमध्ये ‘अवार्ड बैंक अफ द इयर २०२४ र २०२५’ को उपाधि प्राप्त गर्न सफल बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो।

त्यस्तै, बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन सेवा सञ्चालनमा ल्याएको छ। स्वतन्त्र पेसाकर्मीलाई लक्षित गर्दै विशेष ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ पनि सुरु गरेको बैंकले जनाएको छ।

बैंकले मोबाइल बैंकिङ अनुप्रयोगमार्फत सेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा उपलब्ध गराउनुका साथै अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरेको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा फैलिएका दुई सय शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ७८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।