काठमाडौं । सिद्धार्थ बैंकले डिजिटल बैंकिङ सेवालाई थप सहज र प्रभावकारी बनाउने उद्देश्यले एपीआई बैंकिङ प्लेटफर्म ‘र्यापिड’ सञ्चालनमा ल्याएको छ। बैंकले नेपाल फिनटेक एक्सपो २०२६ को अवसरमा उक्त प्लेटफर्म औपचारिक रूपमा सार्वजनिक गरेको हो।
बैंकिङ एज अ सर्भिस अवधारणामा आधारित ‘र्यापिड’ ले बैंक, वित्तीय प्रविधिसम्बन्धी कम्पनी तथा डिजिटल सेवा प्रदायकका प्रणालीलाई एप्लिकेसन प्रोग्रामिङ इन्टरफेस (एपीआई) मार्फत एकआपसमा जोड्ने काम गर्छ। यसबाट विशेषगरी व्यावसायिक ग्राहकलाई विभिन्न बैंकिङ सेवा एउटै प्रणालीमार्फत प्रयोग गर्न सहज हुने बैंकले जनाएको छ।
यस प्लेटफर्मको प्रयोगबाट कर्पोरेट ग्राहकले आफ्नै सफ्टवेयर वा उद्यम स्रोत व्यवस्थापन प्रणाली (ईआरपी) मार्फत बैंक खाताको मौज्दात हेर्न, खाताको विवरण डाउनलोड गर्न, कोष व्यवस्थापन गर्न तथा कारोबारको स्वतः मिलान गर्न सक्नेछन्। यसका लागि विभिन्न बैंकिङ प्रणालीमा छुट्टाछुट्टै प्रवेश गर्नुपर्ने झन्झटसमेत हट्ने अपेक्षा गरिएको छ।
ग्राहकले ‘कनेक्ट विथ एपीआई बैंकिङ’ विकल्पमार्फत आफ्नो बैंक खाता जोड्न सक्नेछन्। सेवा प्रयोगका लागि बैंकमा एकपटक मोबाइल बैंकिङमा जस्तै आवेदन फाराम भरेपछि अधिकांश प्रक्रिया अनलाइनबाटै पूरा गर्न सकिने बैंकले जनाएको छ।
प्लेटफर्मले ग्राहकको सहमति लिने प्रक्रियालाई समेत विद्युतीय माध्यमबाट व्यवस्थित गरेको छ। यसले बैंकिङ सेवा प्राप्त गर्ने प्रक्रिया सहज, पारदर्शी र प्रभावकारी बनाउने बैंकको विश्वास छ। ग्राहकको वित्तीय विवरण सुरक्षित राख्न यसमा सुरुदेखि अन्त्यसम्म सूचना सङ्केतन, बहुस्तरीय प्रमाणीकरणलगायत सुरक्षा प्रणाली अपनाइएको बैंकले जनाएको छ।
‘र्यापिड’ मार्फत साना, मझौला तथा ठूला व्यवसायले आफ्नै प्रणालीबाट वित्तीय गतिविधि व्यवस्थापन गर्न सक्नेछन्। यसले व्यावसायिक कारोबारलाई व्यवस्थित बनाउनुका साथै बैंक, वित्तीय प्रविधिसम्बन्धी कम्पनी र डिजिटल सेवा प्रदायकबीच सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यस प्लेटफर्मको सञ्चालनसँगै व्यवसायलाई डिजिटल बैंकिङ सेवामा पहुँच विस्तार गर्न तथा वित्तीय व्यवस्थापनमा लाग्ने समय र झन्झट घटाउन सहयोग पुग्ने बैंकको विश्वास छ।