काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) र क्लाउड अकाउन्टिङ प्लेटफर्म टिगबीच लेखा क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग विस्तार गर्ने उद्देश्यले सहकार्य भएको छ। सहकार्यअन्तर्गत आईक्यानका योग्य सदस्य फर्मले टिगको बेसिक प्याकेज आजीवन निःशुल्क प्रयोग गर्न पाउनेछन् भने योग्य विद्यार्थीले अध्ययन तथा अभ्यासका लागि स्टुडेन्ट एडिसन प्रयोग गर्न सक्नेछन्।
सहकार्यसम्बन्धी सम्झौतापत्रमा आईक्यानका कार्यकारी निर्देशक सीए विमल डंगोल र टिगका प्रमुख कार्यकारी अधिकृत रमेश केसीले हस्ताक्षर गरेका छन्।
टिगका प्रमुख कार्यकारी अधिकृत केसीले यस सहकार्यले लेखा व्यवसायी तथा विद्यार्थीलाई आधुनिक क्लाउड अकाउन्टिङ प्रणालीसँग परिचित गराउँदै व्यावहारिक डिजिटल सीप विकासमा सहयोग पुर्याउने बताए।
त्यस्तै, आईक्यानका कार्यकारी निर्देशक डंगोलले नेपालमै विकसित विश्वस्तरीय सफ्टवेयरसँगको सहकार्यले लेखा क्षेत्रमा डिजिटल प्रविधिको प्रयोगलाई थप प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे। यसबाट लेखा व्यवसायीले डिजिटल प्रणालीमा काम गर्ने अवसर पाउनुका साथै विद्यार्थीले आधुनिक लेखा प्रणालीको व्यावहारिक अनुभव हासिल गर्न सक्ने उनको भनाइ छ ।
सम्झौताअनुसार निःशुल्क पहुँच प्राप्त गर्ने सदस्य फर्मले आफ्नै संस्थाको लेखा तथा वित्तीय व्यवस्थापनका लागि टिग प्रयोग गर्न सक्नेछन्। प्लेटफर्ममार्फत क्लाउडमा लेखा व्यवस्थापन, प्रयोगकर्ताको भूमिकाअनुसार पहुँच निर्धारण, मूल्य अभिवृद्धि कर (भ्याट) तथा अग्रिम कर कट्टी (टीडीएस) व्यवस्थापन, वित्तीय प्रतिवेदन तयार गर्ने र बैंक हिसाब मिलानलगायतका काम गर्न सकिनेछ।
आईक्यानमा दर्ता भएका योग्य सदस्य फर्मले टिगमा डेमो अकाउन्ट सिर्जना गरी त्यसलाई आजीवन निःशुल्क संस्करणमा रूपान्तरण गर्न अनलाइन आवेदन दिनुपर्नेछ। आवेदन प्राप्त भएपछि आईक्यानको सदस्यता विवरणका आधारमा प्रमाणीकरण गरिने र प्रक्रिया पूरा भएपछि सम्बन्धित खातालाई निःशुल्क संस्करणमा रूपान्तरण गरिने टिगले जनाएको छ।
त्यस्तै, आईक्यानका योग्य विद्यार्थीले उपलब्ध स्टुडेन्ट एडिसनमार्फत कारोबार प्रविष्टि, वित्तीय प्रतिवेदन तयार गर्ने तथा भ्याट र टीडीएससम्बन्धी लेखा प्रक्रियाको अभ्यास गर्न सक्नेछन्। यसले सैद्धान्तिक अध्ययनलाई व्यावहारिक सीपसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यद्यपि, स्टुडेन्ट एडिसन अध्ययन तथा अभ्यासका लागि मात्र उपलब्ध हुनेछ। यसलाई ग्राहक वा अन्य व्यवसायको लेखा व्यवस्थापन, पुनः बिक्री वा अन्य व्यावसायिक प्रयोजनमा प्रयोग गर्न पाइने छैन।
टिगका अनुसार लेखा क्षेत्र क्लाउड प्रणाली, स्वचालन, वास्तविक समयको वित्तीय सूचना र डिजिटल सहकार्यमार्फत रूपान्तरण भइरहेको अवस्थामा लेखा व्यवसायी तथा विद्यार्थीलाई आधुनिक प्रविधिसँग परिचित गराउनु आवश्यक छ।
आईक्यान र टिगबीचको सहकार्यले लेखा क्षेत्रमा डिजिटल प्रविधिको पहुँच विस्तार गर्नुका साथै नेपालमा प्रविधिमैत्री र डिजिटल रूपमा सक्षम लेखा समुदाय विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।