• Menu

बूढानीलकण्ठबाट बरामद सुन २१ किलोभन्दा बढी, मूल्य ५४ करोड ६० लाख

नेपाल प्रफिट

२०८३ असोज २३, शुक्रबार १६:४८

बूढानीलकण्ठबाट बरामद सुन २१ किलोभन्दा बढी, मूल्य ५४ करोड ६० लाख

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका-२, माथिल्लो भङ्गालबाट प्रहरीले २१ किलो ७५० ग्रामभन्दा बढी सुन बरामद गरेको छ । बरामद सुनको बजार मूल्य ५४ करोड ६० लाख सात हजार ३२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बरामद सुनको तौल २१ किलो ७५०.६८ ग्राम रहेको जानकारी दिएको हो ।

कार्यालयको टोलीले बिहीबार मध्याह्न माथिल्लो भङ्गालस्थित चिनियाँ नागरिकले भाडामा लिएको घरबाट सुन बरामद गरेको थियो । घटनामा संलग्न रहेको आरोपमा तीन जना चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २७ वर्षीय हान फेइ, झोउ लङछिन्ङ र छु क्यान रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष खड्काका अनुसार सुन बरामद भएको घर सुन तस्करीमा संलग्न समूहले गत साउनदेखि भाडामा लिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त घरको मासिक भाडा तीन लाख ३० हजार रुपैयाँ रहेको र समूहले घरधनीलाई चार महिनाको भाडा अग्रिम भुक्तानी गरेको पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार तस्करी गरेर ल्याइएको सुनलाई अर्धठोस अवस्थामा उक्त घरमा प्रशोधन गरी बिस्कुट आकारका ढिका बनाउने गरिएको थियो । सुन प्रशोधनमा प्रयोग हुने उच्च तापक्रमयुक्त भट्टी, डिजिटल तराजु, विभिन्न मेसिन तथा उपकरणसमेत प्रहरीले बरामद गरेको छ ।

यसैगरी, सुन तस्करीमा प्रयोग गरिएको बिवाइडी गाडी पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानअनुसार उक्त गाडी तस्कर समूहले भाडामा लिएर प्रयोग गर्दै आएको थियो ।

प्रशोधन गरिएको सुन लिएर गाडीमा बाहिर निस्कने क्रममा चिनियाँ नागरिकहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद सुन, गाडी तथा अन्य सामग्रीसहित पक्राउ परेका व्यक्तिमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाउँदै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।