• Menu

नापजाँच भएको १४ वर्षपछि महोत्तरीको एकडाराका २५० परिवारले पाए लालपुर्जा

नेपाल प्रफिट

२०८३ असोज २३, शुक्रबार १५:३५

नापजाँच भएको १४ वर्षपछि महोत्तरीको एकडाराका २५० परिवारले पाए लालपुर्जा

महोत्तरी । महोत्तरीको एकडारा गाउँपालिका-१ का २५० परिवारले जग्गाको नापजाँच सम्पन्न भएको करिब १४ वर्षपछि जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्। लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका स्थानीयले यससँगै आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका हुन्।

नापी कार्यालय महोत्तरीले आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरेको हो।

साविक एकडारा गाउँ विकास समिति (गाविस) का वडा नम्बर १, २, ३, ४ र ६ समेटिएको उक्त क्षेत्रमा आर्थिक वर्ष २०६९/७० मै जग्गाको नापजाँच सम्पन्न भएको थियो। तर नापजाँच र नक्साङ्कनको काम पूरा भए पनि आवश्यक प्रक्रिया अघि बढ्न नसक्दा स्थानीयले लामो समयसम्म लालपुर्जा पाउन सकेका थिएनन्।

लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेसँगै अहिले २५० परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिएको हो।

लालपुर्जा प्राप्त भएपछि स्थानीयको जग्गामाथिको स्वामित्व औपचारिक रूपमा स्थापित भएको छ। यसले जग्गासम्बन्धी कानुनी विवाद निरूपण गर्न सहज हुनुका साथै जग्गाको कारोबार तथा आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

जग्गाधनी प्रमाण पुर्जा प्राप्त गरेका परिवारले आफ्नो जग्गा बैंक तथा वित्तीय संस्थामा धितो राखेर ऋण लिनसमेत सहज हुने अपेक्षा गरेका छन्।