• Menu

पोखरा स्कुल बस दुर्घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन

नेपाल प्रफिट

२०८३ असोज २३, शुक्रबार १६:१७

पोखरा स्कुल बस दुर्घटना छानबिन गर्न ५ सदस्यीय समिति गठन

कास्की । पोखरा महानगरपालिकाले पोखरा-२८ मा कालिका बोर्डिङ स्कुलको बस दुर्घटनाबारे सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय छानबिन समिति गठन गरेको छ। दुर्घटनामा चार विद्यार्थी र एक गरी पाँच जनाको मृत्यु भएको छ भने १४ विद्यार्थी घाइते भएका छन्।

महानगरपालिकाले वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीको संयोजकत्वमा समिति गठन गरेको हो। समितिका सदस्यमा मेकानिकल इन्जिनियर सरोज चालिसे, महानगर शिक्षा समिति सदस्य डोलराज पाण्डे, नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापा र ट्राफिक सहायक निरीक्षक अमृत भट्टराई रहेका छन्।

समितिलाई दुर्घटनाको कारण र घटनासँग सम्बन्धित विषयमा विस्तृत अध्ययन तथा छानबिन गरी पाँच दिनभित्र सत्यतथ्यसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ।

माझठानाबाट विद्यार्थी बोकेर आएको बस कालिकास्थित ओख्लेको भिरमा दुर्घटना भएको थियो। दुर्घटनाको कारण पहिचान गर्नुका साथै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आवश्यक सुधारका उपाय सुझाउन समिति गठन गरिएको महानगरपालिकाका प्रमुख एवं नगर शिक्षा समितिका अध्यक्ष धनराज आचार्यले बताए।

समितिले विद्यालयका सवारीसाधनको सुरक्षा अवस्था, विद्यार्थीको सुरक्षित आवागमन र आगामी दिनमा अपनाउनुपर्ने सावधानीका विषयमा समेत सुझाव दिनेछ।

दुर्घटनाप्रति दुःख व्यक्त गर्दै नगरप्रमुख आचार्यले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइते विद्यार्थी, चालक र सहचालकको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

विद्यार्थीको सुरक्षा सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै उनले विद्यालयका सवारीसाधनको नियमित जाँच, निर्धारित सुरक्षा मापदण्डको कडाइका साथ पालना र प्रभावकारी अनुगमन गर्न सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन्।  रासस