• Menu

अर्थतन्त्रमा स्थिरता कायम गर्ने मोडेल विकास गरेका हल र उडफोर्डलाई नोबेल पुरस्कार

नेपाल प्रफिट

२०८३ असोज २६, सोमबार १७:१०

अर्थतन्त्रमा स्थिरता कायम गर्ने मोडेल विकास गरेका हल र उडफोर्डलाई नोबेल पुरस्कार

एजेन्सी । अमेरिकी अर्थशास्त्री रोबर्ट हल र माइकल उडफोर्डलाई सन् २०२६ को अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको छ । मौद्रिक तथा वित्तीय नीतिमार्फत अर्थतन्त्रमा हुने उतारचढाव नियन्त्रण गरी स्थिरता कायम गर्ने विषयमा गरेको अनुसन्धानका लागि उनीहरूलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।

रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले जारी गरेको विज्ञप्तिमा विजेताहरूको अनुसन्धानले विश्वभरका केन्द्रीय बैंक तथा सरकारहरूले प्रयोग गर्ने आर्थिक मोडेललाई बलियो सैद्धान्तिक आधार प्रदान गरेको उल्लेख गरिएको छ ।

पुरस्कार समितिका अध्यक्ष जोन हस्लरका अनुसार हल र उडफोर्डको अनुसन्धानले ऊर्जा संकट तथा घरपरिवारको उपभोगमा हुने आकस्मिक परिवर्तनजस्ता आर्थिक झट्काको सामना गर्न नीतिनिर्मातालाई सहयोग पुर्‍याएको छ ।

सन् १९७० को दशकमा देखिएको तेल संकटका क्रममा मन्दी तथा आर्थिक उतारचढाव नियन्त्रण गर्न कहिले र कसरी नीतिगत हस्तक्षेप गर्ने भन्ने विषयमा परम्परागत केन्सियन आर्थिक मोडेलको प्रभावकारितामाथि प्रश्न उठेको थियो । त्यसपछि अर्थतन्त्रमा स्थिरता कायम गर्न प्रभावकारी नीतिगत उपाय पहिचान गर्न सकिने नयाँ विधि तथा उपकरणको विकासमा हल र उडफोर्डले योगदान पुर्‍याएका थिए ।

एकेडेमीका अनुसार उनीहरूले मुद्रास्फीति, उत्पादन र उपभोगजस्ता समष्टिगत आर्थिक सूचकबीचको तथ्यांकीय सम्बन्धमा मात्र निर्भर नभई सूक्ष्म आर्थिक आधारमा मोडेल निर्माण गर्ने दृष्टिकोण अपनाएका थिए । यसले व्यक्तिगत घरपरिवार र व्यवसायका निर्णयले समग्र अर्थतन्त्रमा पार्ने प्रभाव बुझ्न सहयोग पुर्‍याउँछ ।

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार स्वीडिश वैज्ञानिक अल्फ्रेड नोबेलको सन् १८९५ को इच्छापत्रमा उल्लेख गरिएका पाँच मूल पुरस्कारमध्ये पर्दैन । नोबेलको सन् १८९६ मा निधन भएपछि स्वीडिश केन्द्रीय बैंकको सहयोगमा सन् १९६८ मा यो पुरस्कार स्थापना गरिएको थियो । यसको औपचारिक नाम ‘अल्फ्रेड नोबेलको स्मृतिमा आर्थिक विज्ञानतर्फको स्वेरिजेस रिक्सबैंक पुरस्कार’ हो ।

नोबेलको मूल इच्छापत्रमा उल्लेख नभएकाले केही आलोचकले यसलाई ‘नक्कली नोबेल’ भन्ने गरेका छन् । तथापि, यस पुरस्कारको विजेता छनोट रोयल स्वीडिश एकेडेमी अफ साइन्सेजले नै गर्छ र यसको छनोट प्रक्रिया अन्य नोबेल पुरस्कारको प्रक्रियासँग मिल्दोजुल्दो छ ।

गत वर्ष प्रविधिले आर्थिक वृद्धिलाई कसरी अघि बढाउँछ भन्ने विषयमा अनुसन्धान गरेका अमेरिकी-इजरायली अर्थशास्त्री जोएल मोकिर, फ्रान्सेली अर्थशास्त्री फिलिप एगियोन र क्यानडाका पिटर हाउइटलाई अर्थशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।

अन्य नोबेल पुरस्कारसरह अर्थशास्त्रतर्फको पुरस्कारमा पनि प्रमाणपत्र, स्वर्ण पदक र नगद राशि समावेश हुन्छ । पुरस्कार विजेताहरूले डिसेम्बर १० मा आयोजना हुने औपचारिक समारोहमा पुरस्कार ग्रहण गर्नेछन् । डिसेम्बर १० अल्फ्रेड नोबेलको निधन भएको दिनको वार्षिकी हो ।