• Menu

भोटेकोशी विपत्तिका ४५ दिन : उजाडिएको स्याफ्रुबेँसी बजार र बाँचेकाहरूको त्रास

नेपाल प्रफिट

२०८३ असोज २३, शुक्रबार १७:३४

भोटेकोशी विपत्तिका ४५ दिन : उजाडिएको स्याफ्रुबेँसी बजार र बाँचेकाहरूको त्रास

रसुवा । रसुवाको भोटेकोशीमा विनाशकारी बाढी गएको ४५ दिन बितिसक्दा पनि स्याफ्रुबेँसीका कान्छा तामाङको मनबाट त्यो कहालीलाग्दो क्षण हटेको छैन । आँखै अगाडि बस्तीलाई बाढीले बढारेको त्यो दृश्य उनको स्मृतिमा कहिलेसम्म रहनेछ थाहा छैन ।

अझै पनि यी सबै सपना हो कि जस्तो लाग्छ कहिलेकाहीँ त उनलाई । यतिका दिनसम्म पनि कान्छाको आँखामा भने भदौ १० गतेको त्यो बाढीको भेल नाचिरहन छाडेको छैन । त्यो बाढीको गड्याङगुडुङको आवाज अझै कान्छाको कानमा गुञ्जिरहन छाडेको छैन । भेलले बगाउँदै गर्दा आफन्त चिच्याएका हुन्थे । ती आफ्नाहरूको चिच्याहट सम्झँदा मन काप्न छाडेको छैन । ती घटना बिर्सनसके पो मन भारी हुन छाड्थ्यो कान्छाको ।

बाढीपछि मृत्यु भएका ती आफन्त र गाउँले अब कहिल्यै फर्केर आउने छैनन् । हराएका ती प्रियजन अब त फर्केने आशा पनि मरिसक्यो । कहिलेकाहीँ फर्की आउँछन् कहीँकतैबाट पो भन्ने भ्रम पनि मनबाट पूर्ण रूपमा हट्न सकिरहेको छैन कान्छाको । आँखै अगाडि बगिरहेका ती प्रिजन सम्झन्छन् । बस्तीलाई बाढीले बढारेको दृश्य आँखामा नाचिरहन्छ । अनि झन् मन भक्कानिन्छ कान्छाको । सुन्दर बस्तीलाई बाढीले क्षणभरमै बगर बनाउरला र यति धरै कुरूप बन्ला बन्ने कल्पना पनि गरेका थिएनन् कान्छाले । ती उजाड लाग्दो बगरलाई हेर्दा आँखा रसाउँछ उनको ।

त्यो दिन बाढीको भेल असामान्य रूपमा तीव्र थियो । बाढी आउँदा उनी केही अग्लो स्थानमा पुगेर ज्यान जोगाउन सफल भए तर सुरक्षित स्थानमा पुगेपछि पनि उनले देखेको दृश्य झनै भयावह थियो । ‘गड्याङगुडुङ गरेर ठूलो आवाज आयो । के रहेछ भनेर हेर्दा त ठूलो बाढी रहेछ,’ कान्छा त्यो दिन सम्झन्छन्, ‘बेतोडले भागेर अलि माथि पुगेँ । तल हेर्दा मानिस बगिरहेका थिए । कोही चिच्याइरहेका थिए । हेर्दाहेर्दै स्याफ्रुबेँसी बजारलाई बाढीले बडार्‍यो ।’

आफू सुरक्षित ठाउँमा पुगे पनि अरूलाई जोगाउन नसकेको पीडा भने उनको मनमा गहिरो गरी बसेको छ । ‘सयौँ मानिस बगेको हेर्नुपर्‍यो । त्यस्तो भेलमा पसेर उनीहरूलाई जोगाउन सकिने अवस्था थिएन,’ कान्छा भन्छन्, ‘बगिरहेको हेर्नुबाहेक अर्को विकल्प नै के थियो र ? सम्झँदा पनि अहिले आङ सिरिङ्ग हुन्छ ।‘ त्यसदिन बाढीको भेलले कान्छाका बाल्यकालदेखिका सबै सम्झनासमेत बगाएर लग्यो । सँगै खेलेका साथीहरू, परिचित अनुहार र त्यो बस्ती अहिले कान्छाका सम्झनामा मात्रै छन् । गड्याङगुडुङको आवाज, एकाएक उर्लिएको भेल, मानिसको चिच्याहट र आँखै अगाडि बगिरहेको बस्ती दृश्य सायद कान्छाको मानष्पटलमा ननाचेको कुनै क्षण नै नहोला ।

विपद् दोहोरिने डरले अझै तर्सिरहन्छ मन…

बाढी गएको यतिका दिन बितिसक्दा पनि अझै डराइरहेको छ कान्छाको मन । घरीघरी ठूलो विपद् फेरि दोहोरिन्छ कि भन्ने चिन्ताले सताउन छाडेको छैन । ‘त्यो दिन सम्झँदा अहिले पनि डर लाग्छ,’ उनी भन्छन्, ‘फेरि यस्तै विपद् दोहोरिन्छ कि डर लागिरन्छ । रातैभर आनन्दले निन्द्रा नै पर्दैन ।’

कान्छाका श्रीमती ल्हात्सेन डोल्पालाई पनि आँखै अगाडिको त्यो घटना न सम्झिन मन छ । न बिर्सन सजिलै सक्छिन् । उनको पनि कयौँ रातहरू डरै डरमा बितिसकेँ । अझै पनि मनको डर हट्न सकेको छैन । ‘आकाशमा मेग गर्जंदा पनि डर लाग्छ, हामीलाई जन्दिगीभर नबिर्सने छाप छाडेको छ त्यो बाढीले,’ उनी भन्छिन् ।

अर्का स्थानीय सन्दु ज्ञावाले पनि आफ्ना छ जना आफन्तलाई त्यही बाढीमा गुमाउनुपर्‍यो । बाढीले बगाएको बस्ती फेरि बनाउन सकिएला भन्ने लाग्छ सन्दुलाई । भत्किएका घर, सडक र संरचना पनि फेरि उठाउन सकिएला तर बाढीले खोसेका आफन्त भने कहिल्यै फर्कने छैनन् । सम्झनाले उनलाई पनि हरेक दिन सताइरहेको छ ।

सन्दुको घरलाई भने बाढीले छुन सकेन । घर जोगिएकामा खुसी हुनुपर्ने हो । तर, घरको आँगनीको डिलमा उभिएर तल हेर्दा देखिने उजाड बगरले उनको मन झन् भारी बनाउँछ । आफ्नै घर जोगिएको खुसीभन्दा तलको बस्ती र आफ्ना आफन्त गुमाएको पीडा ठूलो छ उनलाई । ‘बस्ती त फेरि बनाउन सकिन्छ होला । घर पनि फेरि बनाउन सकिन्छ तर गुमाएका मान्छे कसरी फर्काउने ?’ सन्दुको भनाइमा बाढीले छाडेको पीडाको गहिराइ स्पष्ट झल्किन्छ ।

गत वर्ष पनि यसपटकको जस्तै भारी वर्षाबिना भोटेकोशीमा बाढी आएको थियो । तर यस्तो सुनामी थिएन । सन्दुको मनमा अर्को डरले डेरा जमाएको छ- फेरि पनि यो भन्दा ठूलो बाढी आयो भने ? ‘अब त ठूलो बाढी जुनसुकैबेला आउला भन्ने डर लाग्छ । बचेको घर पनि कुनै दिन बगाएर लैजाला कि भन्ने चिन्ता हुन्छ,’ उनी भन्छन् ।

त्यो दिन बाढी आउँदैछ भन्ने पूर्वसूचना आफूहरूले नपाएको सन्दु बताउँछन् । नदीको आवाज अस्वाभाविक आएपछि के रहेछ भनेर हेर्दा पनि निकै ठूलो बाढी पो रहेछ । ‘हामीले बाढी आउँदैछ भन्ने सूचना पाएका थिएनौँ । त्यस दिन बाढी आएको देख्नेबित्तिकै सुस्केरा हालेर आवाज दिन खोजेँ । कसैले सुनेन,’ उनी भन्छन् ।

उर्लिरहेको बाढीको गर्जनसामु एउटा मानिसको सुस्केराको आवाज कति न ठूलो हुनु र मानिसले सुन्नु । सुनेर पनि भाग्न भ्याउने अवस्था थिएन । सन्दुले सुस्केरा दिँदादिँदै उनकै आँखा अघि बाढीले बस्ती र मानिसलाई बगायो । त्यो दिन सम्झिँदा सन्दुको मन अझै झस्किन छाडेको छैन । ‘अझै पनि यी सबै सपना भइदिएहुन्थ्यो जस्तो लाग्छ । बिहान उठ्दा ‘अँ, धन्न सपना पो रहेछ’ भन्न पाए हुन्थ्यो,’ उनी भन्छन् । तर, त्यो सपना हुनै सक्दैन अब, कठोर सत्य हो । जुन स्वीकार गर्नुको विकल्प नै छैन ।

स्याफ्रुबेँसी बजारको उजाड बगर हेरेपछि आफन्त सम्झिरहन्छन् सन्दु । घरको आँगनमा उभिँदा घर बचेको र आफू बाँचेको खुसीभन्दा अरु गुमाएकाको पीडा बल्झिन्छ । बाढीको भेल तलतिर बगेर गयो । तर, त्यसले सन्दु र अन्य बाँचेकाको मनमा छाडेको त्रास भने अझै बगेको छैन ।

विपद्पछिको कठिन जीवनस्तर

भोटेकोशी बाढी गएको ४५ दिन बितिसकेको छ । बाढीले खोसेका जीवन फर्केर आउने छैनन् । बेपत्ता आफन्त भेटिने आशा पनि मरिसक्यो । बाँचेका मानिस भने गुमाएका आफन्तको सम्झनामा टोलाइरहेका छन् । हिजोका सुन्दर बस्ती र हराभरा खेत, प्राकृतिक सौन्दर्यले भरिएको ठाउँ अहिले उजाड बगर बनेको छ । त्यो बगर देख्ने जो कोहीको मन भारी हुन्छ र आँखा रसाउँछन् ।

बाढीबाट जोगिएकाको जीवन पनि सहज छैन । घरबार र आफन्त गुमाएका परिवारको पीडासँगै दैनिक गुजारा चलाउने चुनौती थपिएको छ । ‘महँगी असाध्यै छ । हामी प्रभावित क्षेत्रका भए पनि प्रभावित परिवारमा नपरेकाले राहत लिन जान पनि मन लाग्दैन । किनेर खान पनि नजिकै ठाउँ छैन । अलि टाढा जाँदा असाध्यै महँगो पर्छ,’ सन्दु भन्छन्, ‘बाँच्नेलाई पनि जिउन निकै गाह्रो छ ।’

विपत्तिले दिएको पीडा र अभावकाबीच सन्दुको मनमा भने निराशासँगै पुनःसामान्य जीवनमा फर्किने झिनो आशा पनि बाँकी छ । सडक बन्ला, पुल बन्ला, बस्ती फेरि बस्ला र उजाडिएको ठाउँमा पुरानै सौन्दर्य फर्किएला भन्ने आशाले उनलाई घचघच्याइरहन्छ । पुनर्निर्माणपछि जीवन फेरि सहज बन्ने विश्वास त छ, तर त्यसका लागि कति समय कुर्नुपर्ने हो भन्ने उनलाई थाहा छैन । अहिलेका लागि उनीसँग गुमाएका आफन्तको कहिल्यै नमेटिने सम्झना, विपद्ले छाडेको पीडा र फेरि जीवन लयमा फर्किने प्रतीक्षा भने बाँकी नै छ ।

वैकल्पिक आवतजावतलाई तुइन

केही सामान किन्न र उपचार गर्न जानुपर्दा भने घण्टौँ कुरेर तुइनबाट आवातजावत गर्नुपर्ने अर्को समस्या सुनाउँछन् कान्छा तामाङ । ‘तुइनबाट खोला तर्दातर्दै अझै ठूलो बाढी आउँछ र तुइनसहित बगाउला कि भन्ने डर लाग्छ । के गर्नु तुइनबाहेक अन्य केही विकल्प नै छैन,’ उनी सुनाउँछन् ।

रसुवासहित बाढीबाट प्रभावित क्षेत्रमा वैकल्पिक आवतजावतका लागि चार वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ । स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक एवं प्रवक्ता कमलकुमार अधिकारीले बाढी प्रभावित क्षेत्रमा आवातजावतका लागि बनाइएका ती तुइन निर्माण तथा मर्मतमा करिब रु २० लाख खर्च भएको जानकारी दिए ।

‘नुवाकोटको इन्द्रेणीचौर-गुम्बाडाँडा जोड्ने त्रिशूली नदीको तुइनलाई मोटराइज्ड गरिएको छ । त्यस्तै रसुवाको गोसाइँकुण्ड गाउँपालिका-५ र ६ स्थित स्याफ्रुबेँसी-चिलिमे जलविद्युत आयोजना क्षेत्रको तुइनलाई मोटराइज्ड गर्ने काम भएको छ,’ उनले भने, ‘रसुवाको गोसाइँकुण्ड गाउँपालिका-६ स्थित हाकुबेँसी र आमाछोदिङ्मो गाउँपालिका-१ जोड्ने तुइन तथा नुवाकोटको विदुर नगरपालिका-५ देविघाट क्षेत्रका तुइन सञ्चालनमा रहेको छ ।’

अधिकारीका अनुसार थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको छ । रसुवाको उत्तरगया गाउँपालिका-४ पैरेबेँसी र नुवाकोटको किस्पाङ गाउँपालिका-५ जोड्ने स्थानमा निर्माण कार्य सुरु भएको छ । विभागका अनुसार स्याफ्रुबेँसी-लाङटाङ क्षेत्रमा भने खानी क्षेत्र भएकाले नेपाली सेनाले आवागमन निषेध गरेपछि स्थान परिवर्तन गर्नुपर्ने भएको छ । रसुवाकै रुङ्गा क्षेत्रमा पनि तुइन जडानको तयारी भइरहेको विभागले जनाएको छ ।

विपद्पछि १२ झोलुंगे पुलको मर्मत सम्पन्न

भोटेकोशी-त्रिशूली क्षेत्रमा आएको बाढीबाट क्षतिग्रस्त १२ वटा झोलुंगे पुलको मर्मत सम्पन्न भएको छ भने थप नौ वटा पुलको मर्मत अन्तिम चरणमा पुगेको छ । स्थानीय पूर्वाधार विकास विभागका उपमहानिर्देशक एवं प्रवक्ता कमलकुमार अधिकारीले बाढीबाट क्षतिग्रस्त पुलको मर्मतका लागि पहिलो र दोस्रो चरणमा आवश्यक स्टिल पार्टस् खरिद सम्पन्न भएको जानकारी दिएका छन् । तेस्रो चरणका लागि आवश्यक स्टिल पार्टस् खरिदको सम्झौता भई पहिलो पटकको सामानसमेत आपूर्ति भइसकेको उनको भनाइ छ ।

विभागका अनुसार मर्मत सम्पन्न भएका पुलमा नुवाकोटका पिमलटार-जागाराम, फोक्सेटार र जिलिङ तथा धादिङका मालिङ्गा-मझुवाटार दोभान, महादेवस्थान, केउरेन-गहते, बेल्खु-भुतिया, कालिकास्थान, महेशदोभान-मास्टार, चिरौँदी खोला र शीतलबजार-क्युरेनीटार झोलुंगे पुल छन् । गोरखा–चितवन जोड्ने फिस्लिङ झोलुंगे पुलको मर्मतसमेत सम्पन्न भएको विभागले जनाएको छ ।

विभागका अनुसार यी १२ वटा झोलुंगे पुलको मर्मतमा करिब तीन करोड खर्च भएको छ । त्यस्तै गोरखा-धादिङको बादरे, धुवादीघाट, जिन्टे-स्यालटार, धादिङ-नुवाकोट जोड्ने कोल्पु–कल्लेरीघाट, गोरखा-धादिङको जोगीमारा र कौडीखोला, गोरखा-चितवनको कुरिनटार (लेबाटार), धादिङको बिहानी पम्प र मलेखु झोलुंगे पुलको मर्मत कार्य अन्तिम चरणमा पुगेको विभागले जनाएको छ ।

विभागले बाढीबाट क्षतिग्रस्त झोलुंगे पुलको पुनर्निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने कामसमेत सुरु गरेको जनाएको छ । त्यस्तै क्षतिग्रस्त पुल पुनर्निर्माणका लागि आवश्यक लट्ठा खरिद प्रक्रिया अघि बढाइएको छ । थप लट्ठा खरिदका लागि सहमति माग गर्दै मन्त्रालयमा प्रस्तावसमेत पेस गरिएको विभागका उपमहानिर्देशक अधिकारीले जानकारी दिए । रासस