मुस्ताङ । चीनबाट एघार दिनको अवधिमा ५ सय ४३ टन फलफूल आयात भएको छ ।
नेपाल-चीन उत्तरी कोरलानाकाबाट उक्त फलफूल आयात भएको हो । कोरलास्थित लोमान्थाङ-४ न्हेचुङस्थित क्वारेन्टाइन कार्यालयका अनुसार भारी वर्षा र हिमपातपछि कोरलानाकाबाट उक्त परिमाणमा चिनियाँ फलफूल भित्रिएको जनाएको हो ।
क्वारेन्टाइन कार्यालयका प्राविधिक सहायक बन्दना घर्तीमगरका अनुसार पछिल्लो एघार दिनमा कोरलानाका हुँदै स्याउ ८७.३०० टन, आँप १६.१०० टन र ड्रागन फ्रुट ८.३१६ टन चिनियाँ फलफूल नेपाल भित्रिएको हो ।
भारी वर्षा र हिमपातपछि असोज ११ गतेदेखि बेनी-जोमसोम-कोरला सडक पूर्ण रुपमा अवरुद्ध हुँदा कोरलानाकाबाट नेपाल भित्रिएका चिनियाँ फलफूलजन्य मालवस्तु गन्तव्यतर्फ लैजान कठिनाइ भइरहेको छ ।
आयात भएका चिनियाँ फलफूलजन्य मालवस्तु लामो समयसम्म कन्टेनरभित्र गुम्सिएर रहँदा सड्ने र बिग्रने जोखिमसमेत बढेको छ ।
यसैबीच, मुस्ताङको जोमसोममा बिहीबार एक कन्टेनरमा ढुवानी गरिएको ड्रागन फ्रुट स्थानीयलाई वितरण गरिएको थियो । करिब २४ लाख ५० हजार मूल्य बराबरको ड्रागन फ्रुट समयमै गन्तव्यमा पुर्याउन नसकेपछि मुस्ताङको जोमसोममा स्थानीयलाई वितरण गरेको कम्पनीका प्रतिनिधि सुवास सुनुवारले जानकारी दिए ।
उनले कन्टेनरमा करिब आठ टन चिनियाँ ड्रागन फ्रुट रहेकोमा कुहिनुभन्दा स्थानीयलाई वितरण गरेको जानकारी दिए ।
योसँगै ड्रागनको मूल्य, कन्टेनर भाडा र भन्सार राजस्व गरी अनुमानित ३० लाखको फलफूल क्षति भएको छ । रासस