काठमाडौं । सेयर बजार परिसूचक नेप्से बिहीबार २.३१ अंकले बढेर २ हजार ५७४ अंकमा कायम भएको छ ।
बजार बढेसँगै कारोबार रकममा पनि सामान्य सुधार भएको छ। बुधबार ३ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
बिहीबार कुल २७८ कम्पनीको कारोबार भएकामा १४० कम्पनीको सेयर मूल्य बढेको, १२७ कम्पनीको घटेको र ११ कम्पनीको मूल्य स्थिर रहेको छ।
बजारलाई सबैभन्दा ठूलो समूह बैंकिङले टेवा दिएको छ। बिहीबार बैंकिङ उपसमूह ०.१९ प्रतिशत बढेको छ। त्यस्तै विकास बैंक ०.०६, जलविद्युत ०.१८, लगानी ०.१५, जीवन बिमा ०.२९, उत्पादन तथा प्रशोधन ०.७३, निर्जीवन बिमा ०.१७ र व्यापार उपसमूह ०.४३ प्रतिशत बढेका छन्।
यता वित्त ०.०२, होटल तथा पर्यटन ०.३९, लघुवित्त ०.०२ र अन्य उपसमूह ०.४४ प्रतिशत घटेका छन्।
बिहीबार कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १५ प्रतिशत बढेको छ। त्यस्तै स्नो रिभर्स लिमिटेड ६.४०, चिरख्वा हाइड्रोपावर ५.१५, नेसनल हाइड्रोपावर ३.९४, सोनापुर मिनरल्स ३.६१ र बोटलर्स नेपाल बालाजुको सेयर मूल्य ३ प्रतिशत बढेको छ।
यता घलेम्दी हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ३.३६ प्रतिशत घटेको छ। माबिलुङ इनर्जीको सेयर मूल्य पनि २.९७ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर, सोनापुर मिनरल्स, हिमालयन पावर पार्टनर, आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर र लक्ष्मी सनराइज बैंक अगाडि रहेका छन्।