• Menu

सेयर बजार सामान्य अंकले बढ्यो

नेपाल प्रफिट

२०८३ असोज १५, बिहीबार १५:४५

सेयर बजार सामान्य अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार सामान्य अंकले बढेको छ। लगातार तीन कारोबार दिन घटेको नेप्से बिहीबार ०.२६ अंकले बढेर सामान्य सुधार देखिएको हो।

यो साता सोमबार, मंगलबार र बुधबार नेप्से परिसूचक घटेको थियो। बिहीबार बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य बढेपछि त्यसको सकारात्मक प्रभाव समग्र बजार परिसूचकमा परेको हो।

बिहीबार बैंकिङ, विकास बैंक र वित्त समूहका सेयर मूल्य बढेका छन्। नेप्सेमा कारोबार भएका कम्पनीमध्ये १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने १२८ कम्पनीको मूल्य घटेको छ। १२ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ।

बिहीबार कारोबार रकमसमेत बढेको छ। यस दिन ४ अर्ब ८९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बुधबार ४ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।

बिहीबार सबैभन्दा धेरै सेयर मूल्य बढ्ने कम्पनीमा सिन्धु विकास बैंक रहेको छ। उक्त कम्पनीको सेयर मूल्य १०.८१ प्रतिशतले बढेको छ। बुधबार पनि सिन्धु विकास बैंकको सेयर मूल्य १४ प्रतिशतभन्दा बढीले बढेको थियो।

समूहगत परिसूचकतर्फ बैंकिङ ५.९२, विकास बैंक १२.१९, वित्त ४.२३ र जलविद्युत् समूह १.३० अंकले बढेका छन्।

यस्तै, होटल समूह ९.९८, जीवन बिमा १२.७०, उत्पादनमूलक ८.३३, लघुवित्त १.३२, सामूहिक लगानी कोष ०.०५, निर्जीवन बिमा ४८.२४, अन्य ५.९२ र व्यापार समूह ३४.३२ अंकले घटेका छन्।