काठमाडौं । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा विश्वका १९३ देशबाट भएको प्रतिनिधित्वमध्ये नेपालका प्रधानमन्त्री बालेन्द्र शाह निकै चर्चामा छन् । भदौ १० को भोटेकोशी बाढीलाई जलवायु परिवर्तनसँग जोडेर उनले असोज ८ मा गरेको सम्बोधनका थुप्रै हरफहरु अन्तर्राष्ट्रिय मिडियामा अझै समाचार बनिरहेका छन् ।
युद्धका लागि ७२ घण्टाभित्र हतियार पुग्न सक्ने तर त्यही युद्धले आपूर्ति शृंखला भत्काउँदा किसानको खेतमा मल पुग्न नसक्ने उनको अभिव्यक्ति सर्वाधिक चर्चामा छ ।
उनको गहकिला शब्दावलीकै कारण उनको सम्बोधन ८१औँ महासभाकै सबैभन्दा लोकप्रिय बनेको छ । अमेरिकाको न्युयोर्कस्थित यूएनको मुख्यालयमा उनले गरेको सम्बोधन आइतबार साढे ४:३० बजेसम्ममा यूएनको युट्युबमा ५ लाख २३ हजार पटक हेरिएको छ ।
त्यस्तै इजरायल र अमेरिकी आक्रमणलाई जोडेर मर्मस्पर्शी भाषण गरेको इरानी राष्ट्रपतिको भाषण दोस्रो धेरै पटक हेरिएको छ । इरानी सर्वोच्न नेता मोज्तवा खामेनीको सम्बोधन ४ लाख १७ हजार पटक हेरिएको हो ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सम्बोधन ३ लाख ८९ हजार पटक र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको २ लाख १४ हजार पटक हेरिएको छ । नेतान्याहूको सम्बोधन धेरै देशका प्रतिनिधि एवं कूटनीतिज्ञले बहिष्कारसमेत गरेका थिए ।
त्यस्तै टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको सम्बोधन पनि आइतबार साढे ४:३० बजेसम्ममा २ लाख २१ हजार पटक हेरिएको छ भने ब्राजिलका राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाको २ लाख ४ हजार पटक हेरिएको छ । अन्य सम्बोधनको २ लाख नाघेको छैन ।