काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई प्रहरीले भेट्न नदिएपछि टोली फर्किएको छ ।
जबरालाई राखिएको कार्यालयको गेटमा आयोगको टोली करिब ४५ मिनेटसम्म कुरेर बसे पनि प्रहरीले भेट गर्न अनुमति नदिएपछि टोली फर्किएको हो ।
गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगन्जस्थित निवासबाट जबरालाई पक्राउ गरेको थियो । पक्राउपछि उनलाई अपराध अनुसन्धान कार्यालयमा लगेर एसएसपी सन्तोष खड्काको कार्यकक्षमा राखिएको जनाइएको छ ।
प्रहरीले जबरालाई ‘सुरक्षा थ्रेट’ रहेको भन्दै रातारात कार्यालयमा ल्याएर राख्नुपरेको जनाएको छ । सुरक्षाको कारण देखाउँदै उनलाई बाहिरी व्यक्तिसँग भेट गर्न नदिइएको बताइएको छ ।
यता, जबरालाई भेट्न नदिएपछि मानव अधिकार आयोगको टोली कार्यालयबाट फर्किएको हो । आयोगले हिरासतमा रहेका व्यक्तिको अवस्था, व्यवहार तथा मानव अधिकारको अवस्थाबारे जानकारी लिन भेट गर्न खोजेको थियो ।
जबरालाई पक्राउ गरी राख्ने प्रहरीको शैलीमाथि कानुनका जानकारहरूले समेत प्रश्न उठाएका छन् । पक्राउको कारण, हिरासतको प्रक्रिया तथा उनलाई राखिएको अवस्थाका विषयमा थप प्रश्न उठिरहेका छन् ।