• Menu

पूर्वप्रधानन्यायाधीश जबरालाई परिवारको जिम्मा लगाइयो

नेपाल प्रफिट

२०८३ असोज ११, आइतबार १४:४९

पूर्वप्रधानन्यायाधीश जबरालाई परिवारको जिम्मा लगाइयो

काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले परिवारको जिम्मा लगाएको छ ।

शनिबार मध्यराति महाराजगञ्जस्थित निवासबाट पक्राउ गरिएका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

यसअघि अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई ‘सुरक्षित ठाउँमा’ पठाइएको बताएका थिए । तर, सुरक्षित ठाउँ कहाँ हो भन्नेबारे उनले खुलाएका थिएनन् ।

गएराति अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले जबरालाई निवासबाट पक्राउ गरेको थियो । प्रहरीले ‘सुरक्षा थ्रेट’ रहेको भन्दै उनलाई रातारात कार्यालयमा ल्याएर राख्नुपरेको जनाएको थियो ।

जबरालाई भेट्न मानव अधिकार आयोगको टोली पनि अपराध अनुसन्धान कार्यालय पुगेको थियो । तर, प्रहरीले भेट्न अनुमति नदिएपछि करिब ४५ मिनेट गेटमा कुरेर आयोगको टोली फर्किएको थियो ।

सरकारले जबरालाई पक्राउ गर्नुपर्ने कारण भने औपचारिक रूपमा सार्वजनिक गरेको छैन । एसएसपी खड्काले जबरालाई सुरक्षा जोखिम रहेकाले कार्यालयमा ल्याइएको दाबी गरेका थिए ।

जबराका भाइ प्रभुशम्शेरले पनि प्रहरीले ‘जेनजीबाट थ्रेट’ रहेको भन्दै उनलाई पक्राउ गरेर लगेको बताएका थिए ।

जबरालाई पक्राउ गर्ने प्रहरीको शैली र त्यसको कानुनी आधारबारे कानुनका जानकारहरूले प्रश्न उठाएका छन्।