काठमाडौं । लगातारको वर्षाका कारण प्रमुख बागमती, विष्णुमती, मनोहरालगायत नदी तथा खोलामा जलसहत बढेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका सुरक्षाकर्मीले नदी करिडोर क्षेत्रमा निरन्तर अनुगमन गरिरहेका छन् ।
यसैबीच गृहमन्त्री सुधन गुरुङ ललितपुरको च्यासलस्थित नेपाल कम्युनिष्ट पार्टी (एमाले) को मुख्यालय आसपासका क्षेत्रमा पुगी खोला तथा पानीको बहावको अवस्थाबारे सुरक्षाकर्मीसँग जानकारी लिएका छन् ।
सोक्रममा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै उनले सुरक्षाकर्मी उच्च सतर्कताका साथ कार्यक्षेत्रमा खटिएका प्रतिक्रिया दिए । उनले मनसुनजन्य विपद्बाट हुनसक्ने सम्भावित जोखिम पहिचान र प्रतिकार्यमा सरकार गम्भीरताका साथ लागिरहेको बताए ।
बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका अधिकांश भूभागमा वर्षा भइरहेको छ । नेपाल मौसम विज्ञान विभागका अनुसार पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानमा भारी तथा केही स्थानमा धेरै भारी वर्षा भएको छ ।