• Menu

कुलेखानी क्षेत्रमा बाढीको जोखिम न्यूनीकरणका लागि तीन स्थानमा साइरन जडान

नेपाल प्रफिट

२०८३ असोज ८, बिहीबार १६:३६

कुलेखानी क्षेत्रमा बाढीको जोखिम न्यूनीकरणका लागि तीन स्थानमा साइरन जडान

मकवानपुर । केही दिन भारी वर्षा हुनसक्ने मौसम पूर्वानुमानपछि मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलविद्युत आयोजना तथा आसपासका क्षेत्रमा बाढीको जोखिम न्यूनीकरणका लागि सतर्कता बढाइएको छ ।

मकवानपुर प्रशासनले कुलेखानी क्षेत्रमा सम्भावित बाढीबाट हुने जोखिम न्यूनीकरण तथा सर्वसाधारणलाई समयमै सूचना दिन तीन स्थानमा साइरन जडान गरेको छ ।

कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख प्रल्हाद राउतका अनुसार जलाशयको बाँध, सिस्नेरी प्रहरीचौकी र इन्द्रसरोवर गाउँपालिकाको कार्यालयमा साइरन जडान गरिएको हो ।

निरन्तर वर्षाका कारण जलाशयको जलसतह बढ्न सक्ने अवस्थालाई ध्यानमा राखी साइरनको व्यवस्था गरिएको राउतले बताए । उनका अनुसार हाल इन्द्रसरोवर जलाशयको जलसतह सामान्य अवस्थामा छ । बिहीबार जलसतह १ हजार ५२२.२५ मिटर रहेको उनले जानकारी दिए ।

जलसतह १ हजार ५२७ मिटर पुगेपछि पहिलो चेतावनीयुक्त साइरन बजाइनेछ । जलसतह १ हजार ५२८ मिटर पुगेपछि दोस्रो चेतावनीस्वरूप केही लामो समय साइरन बजाइनेछ । सोभन्दा माथि जलसतह पुगेमा निरन्तर लामो समयसम्म साइरन बजाइने व्यवस्था गरिएको छ ।

साइरनको संकेत अनुसार सर्वसाधारणले आवश्यक सुरक्षा सतर्कता अपनाउनुपर्ने राउतले बताए ।

सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै बुधबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारी नेतृत्वको टोलीले कुलेखानी जलाशय क्षेत्रको स्थलगत अवलोकन गर्नुका साथै सम्बन्धित सरोकारवालासँग छलफल गरेको थियो ।

भारी वर्षाको पूर्वानुमान रहेकाले प्रशासनले सबैलाई आ-आफ्नो स्थानबाट आवश्यक सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ । मकवानपुरको हेटौँडा तथा आसपासका क्षेत्रमा बिहीबार बिहानदेखि निरन्तर वर्षा भइरहेको छ ।