काठमाडौं । बुधबार सेयर बजारमा गिरावट आएको छ । नेप्से परिसूचक ३६.२५ अंकले घटेर २ हजार ६१८ अंकमा ओर्लिएको हफ ।
बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । मंगलबार ७ अर्ब ४ करोड रुपैयाँको सेयर कारोबार भएकोमा बुधबार ६ अर्ब ३५ करोड रुपैयाँमा झरेको छ ।
बुधबार कारोबारमा आएका सबैजसो समूहगत सूचक राताम्य बनेका छन्। जीवन बिमा समूह सबैभन्दा धेरै २.०४ प्रतिशत घटेको छ । जलविद्युत समूह १.६६, लगानी १.४९, विकास बैंक १.३६, लघुवित्त १.३१, निर्जीवन बिमा १.३२, व्यापार १.२६ र बैंकिङ समूह १.२२ प्रतिशत घटेका छन् ।
त्यस्तै वित्त समूह १.०९, होटल तथा पर्यटन ०.९८, उत्पादन तथा प्रशोधन ०.४५ र अन्य समूह १.६५ प्रतिशत घटेका छन् ।
बुधबार २३ कम्पनीको सेयर मूल्य बढ्दा २५३ कम्पनीको मूल्य घटेको छ। दुई कम्पनीको मूल्य भने स्थिर रह्यो।
बढ्ने कम्पनीतर्फ धौलागिरि लघुवित्तको सेयर मूल्य १५ प्रतिशतले उकालो लागेको छ। सीवाईसी लघुवित्त ५.४४, विकास हाइड्रोपावर ३.५४, बोटलर्स नेपाल बालाजु ३ र मिडसोलु हाइड्रोपावर २.६४ प्रतिशतले बढेका छन्।
यता फर्स्ट माइक्रोफाइनान्सको सेयर मूल्य ८.५४ प्रतिशत घटेको छ। माउन्ट एभरेस्ट पावर ५.७२, इङवा हाइड्रोपावर ५.२२ र पियोर इनर्जी ४.७९ प्रतिशतले घटेका छन् ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन डिस्टिलरी, लक्ष्मी सनराइज बैंक, आँखुखोला जलविद्युत र घलेम्दी हाइड्रोपावर अगाडि रहेका छन् ।