• Menu

नेपालबाट भदौमा ५ अर्बभन्दा बढीको विद्युत् निर्यात

नेपाल प्रफिट

२०८३ असोज ३, शनिबार १३:०८

नेपालबाट भदौमा ५ अर्बभन्दा बढीको विद्युत् निर्यात

काठमाडौँ । नेपालले भदौ महिनामा भारत र बंगलादेशतर्फ ५ अर्ब ९ करोड २४ लाख रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार उक्त अवधिमा कुल ५६ करोड ५६ लाख ६ हजार ४४३ युनिट विद्युत् निर्यात भएको हो ।

प्राधिकरणले द्विपक्षीय सम्झौता र विद्युत् बजार (एक्सचेन्ज मार्केट) मार्फत विद्युत् बिक्री गरेको जनाएको छ। द्विपक्षीय सम्झौताअन्तर्गत ४२ करोड १६ लाख युनिटभन्दा बढी विद्युत् बिक्रीबाट ३ अर्ब ६४ करोड रुपैयाँभन्दा बढी आम्दानी भएको छ।

त्यस्तै, एक्सचेन्ज मार्केटमार्फत १४ करोड ३९ लाख युनिटभन्दा बढी विद्युत् निर्यात गरी १ अर्ब ४४ करोड ९९ लाख रुपैयाँ आम्दानी भएको प्राधिकरणले जनाएको छ।

यसैबीच, भोटेकोशी नदीमा आएको बाढीका कारण चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाका संरचनामा क्षति पुगेपछि हाल बंगलादेशतर्फको विद्युत् निर्यात रोकिएको छ।

अन्य आयोजनाबाट बंगलादेशतर्फ विद्युत् निर्यात पुनः सुरु गर्न आवश्यक स्वीकृतिका लागि भारतीय पक्षसँग अनुरोध गरिएको प्राधिकरणले जनाएको छ।