काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङलाई प्रहरीले पक्राउ गरेको छ। उनलाई सिंहदरबार प्रवेशद्वारबाटै नियन्त्रणमा लिइएको हो।
प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूबीच भएको छलफलमा सहभागी भएर फर्किने क्रममा तामाङ पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलीप घिमिरेका अनुसार अध्यक्ष तामाङलाई बैंकिङ कसुरसम्बन्धी मुद्दामा पक्राउ गरिएको हो।
एसएसपी घिमिरेले पक्राउपछि तामाङलाई दरबारमार्ग प्रहरी परिसरमा बुझाइएको जानकारी दिए।
प्रधानमन्त्री शाहले सोमबार बाढीबाट प्रभावित क्षेत्रका स्थानीय तहका जनप्रतिनिधिसँग समस्या, राहत तथा आगामी कदमबारे छलफल गरेका थिए। सोही कार्यक्रममा सहभागी हुन अध्यक्ष तामाङ सिंहदरबार पुगेका थिए। छलफल सकेर बाहिरिने क्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।