काठमाडौं । प्रत्येक वर्ष भाद्र कृष्ण औँशीका दिन राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने पितृ सम्मान मेलाको सबै तयारी पूरा भएको छ ।
बाबुको मुख हेर्ने दिनका रुपमा प्रचलित यस पर्वका दिन बाबु नहुनेहरूले विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुका नाममा श्रद्धापूर्वक तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने वैदिक सनातनी परम्परा छ ।
यसैअनुसार गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा भदौ २६ गते शुक्रबार लाखौँ भक्तजन पितृप्रति सम्मान प्रकट गर्न आउँदै छन् । मेलाका लागि हिजैदेखि तयारी गरिएको छ । आज बिहानदेखि नै मन्दिर क्षेत्रमा भक्तजनको चाप बढ्न थालेको छ । ठाउँ ओगट्न आजैदेखि भक्तजन मन्दिर क्षेत्रमा आई बसेका छन् ।
उत्तरगया भनेर चिनिने गोकर्णेश्वर महादेव मन्दिर परिसरमा पितृ सम्मान दिवसको मेलाका लागि सबै तयारी पूरा भएको मन्दिर क्षेत्र प्रबन्ध समितिको अध्यक्षसमेत रहेका गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष जयराम महतले जानकारी दिए ।
मेलाका लागि सात उपसमिति गठन गरेर तयारी गरिएको छ । गोकर्णेश्वर महादेव मन्दिर परिसरमा बाबुको सम्मान गर्न भक्तजन आउने भएकैले यो औँशीलाई गोकर्णे औँशीका नामले चिनिन्छ ।
यस दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बाबुको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको लाम लाग्छ । मेला व्यवस्थापन गर्न आजैदेखि २०० जना स्वयंसेवक परिचालन गरिएको जानकारी उनले दिए ।
मेलाका लागि शुक्रबार नेपाल मेडिकल कलेज र माकलबारी सानो पुल क्षेत्रमै सार्वजनिक यातायात रोकी मन्दिर क्षेत्रमा प्रवेश गर्न नदिने गरी तयारी भएको समितिले जनाएको छ ।
यस वर्ष नेपाली सेनाको विपद् व्यवस्थापन गणबाटसमेत जनशक्ति बोलाएर वाग्मती तटमा सुरक्षित रुपमा व्यवस्थापन गर्न लागिएको छ ।
मेलामा लाखौँ भक्तजनको आवागमनका कारण मोबाइल नेटवर्कले काम नगर्ने भएकाले मन्दिर परिसर र वडा कार्यालय गरी दुई स्थानमा नेपाल टेलिकमको टावर भ्यानको व्यवस्था गरिएको अध्यक्ष महतले जानकारी दिए ।
आजैदेखि भक्तजनको चाप बढेका कारण जोरपाटी-गोकर्णेश्वर क्षेत्रमा सवारी चाप बढेको छ ।
यसै अवसरमा रसुवाको बेत्रावती, देवघाटलगायत दोभान र त्रिवेणीमा पनि पितृप्रति श्रद्धा भक्तिसाथ श्राद्ध, तर्पण गर्ने भक्तजनको लर्को लाग्छ । यस वर्ष बेत्रावतीमा भोटेकोशी बाढीका कारण असहज अवस्था भएकाले मेला लाग्ने नलाग्ने निश्चित भइसकेको छैन ।
‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । मृत बाबुका नाममा भने गोकर्णेश्वरलगायत तीर्थस्थलमा गई श्रद्धाभक्तिपूर्वक तर्पण, पिण्डदान र सिदादान गरिन्छ । यस दिन थोरै दान गरेपनि हजारौँ गुणाबढी फल पाइने भएकाले पुण्य पर्व भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ ।