काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकलाई आकर्षक बैंकिङ सेवा सुविधा उपलब्ध गराउने उद्देश्यले ५.९९ प्रतिशत स्थिर ब्याजदरमा ‘सजिलो घर कर्जा’ र ‘सवारीसाधन कर्जा’ योजना सार्वजनिक गरेको छ।
बैंकका अनुसार ‘सजिलो घर कर्जा’मा पाँच वर्षसम्म र ‘सवारीसाधन कर्जा’मा तीन वर्षसम्म ५.९९ प्रतिशत वार्षिक स्थिर ब्याजदर कायम रहनेछ। स्थिर ब्याजदरको अवधि समाप्त भएपछि भने बैंकको प्रचलित औसत मासिक आधारदरमा १.५५ प्रतिशत प्रिमियम थप गरी ब्याजदर निर्धारण गरिने बैंकले जनाएको छ।
यस योजनामा सहभागी हुन इच्छुक ग्राहकले नजिकैको सिटिजन्स बैंकको कुनै पनि शाखा कार्यालयमा सम्पर्क गर्न सक्नेछन्।
विश्वकै प्रतिष्ठित ‘बैंक अफ द इयर’को उपाधि सन् २०२४ र २०२५ मा प्राप्त गर्न सफल बैंकले यसअघि नै फोनेपसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनेपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको जनाएको छ।
त्यसैगरी, बैंकले युवालाई लक्षित गर्दै ‘सिटिजन्स जेनेजी सेभिङ्स अकाउन्ट’ र ‘सिटिजन्स डिजिटल बैंकिङ सेवा’ नामक एकीकृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ। बैंकले स्वतन्त्र पेशाकर्मीलाई लक्षित गर्दै विशेष ‘प्रोफेसनल सेभिङ्स अकाउन्ट’ नामक नयाँ बचत खाता पनि सुरु गरेको जनाएको छ।
बैंकका अनुसार नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत शेयर आवेदन तथा सी-आस्बा नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा उपलब्ध गराइएको छ। साथै, क्रस बैंक टेलर सुविधामार्फत अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखामा टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ। बैंकले हाल २० लाख ६४ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा उपलब्ध गराउँदै आएको छ।