काठमाडौं । राष्ट्रियसभाका सांसदहरूले भोटेकोशी बाढी प्रभावित नागरिकलाई राहतसँगै रोजगारी र सहुलियतपूर्ण ऋणको व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै सांसदहरूले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण, पुनःस्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीहरूले प्रभावित नागरिकलाई दीर्घकालीन रूपमा आत्मनिर्भर बनाउन रोजगारी तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।
सांसद मोहम्मद खालिदले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत, पुनःस्थापना र पुनर्निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताए। प्रभावित नागरिकका लागि रोजगारी सिर्जना तथा सहुलियतपूर्ण ऋण उपलब्ध गराउन आवश्यक रहेको उनको भनाइ थियो ।
खालिदले मुलुकमा खाना पकाउने ग्यासको अभाव बढ्दै गएको उल्लेख गर्दै दैनिक करिब एक लाख सिलिन्डर माग रहेकामा ३० हजार मात्र आपूर्ति भइरहेको बताए। दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढिरहेको भन्दै बजार व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने उनले बताए ।
सांसद तुलप्रसाद विश्वकर्माले रसुवा बाढीपीडितलाई समयमै राहत उपलब्ध गराउन तथा सम्पर्कविहीन व्यक्तिको खोज तथा उद्धारलाई प्राथमिकता दिन आग्रह गरे। बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने भएकाले प्रभावितको स्वास्थ्य परीक्षण तथा उपचारको उचित व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए।
सांसद ललितजङ्ग शाहीले भोटेकोशी बाढी जलवायु परिवर्तनका कारण उत्पन्न विपद् भएको बताए। जलवायु परिवर्तनमा नेपालको योगदान नगन्य भए पनि त्यसको असर नेपालले ठूलो मात्रामा भोग्नुपरेको उनको भनाइ थियो।
उनले जलवायुजन्य विपद्बाट भएको क्षतिका लागि धनी मुलुकले क्षतिपूर्ति दिनुपर्ने तथा हानि तथा नोक्सानी कोषबाट नेपालले पर्याप्त रकम प्राप्त गर्नुपर्ने बताए।
सांसद रेणु चन्दले भोटेकोशी बाढीको विपद् व्यवस्थापनमा संघ र स्थानीय सरकारबीच पर्याप्त समन्वय हुन नसकेको बताइन्। विपद् व्यवस्थापनमा स्थानीय तहलाई पर्याप्त स्रोत, साधन र अधिकार उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो।
प्रदेश सरकारले प्रभावित क्षेत्रमा तुइन निर्माणलगायतका माध्यमबाट सहयोग गरेको उल्लेख गर्दै उनले होल्डिङ सेन्टरमा रहेका विस्थापितलाई लामो समयसम्म राखिराख्नुभन्दा उचित स्थानमा व्यवस्थापन गर्नुपर्ने बताइन्। गर्भवती महिला, बालबालिका, अशक्त तथा बिरामीको विशेष हेरचाह गर्नुपर्नेमा पनि उनले जोड दिइन्।
सांसद किरणबाबु श्रेष्ठले राष्ट्रिय संकटको समयमा सबै नेपाली एकजुट भएर अघि बढ्नुपर्ने बताए। विपद् प्रभावितको उद्धार तथा सहयोगमा राज्यका सबै निकाय र नागरिक एकताबद्ध हुनुपर्ने उनको भनाइ थियो।
सांसद गीता देवकोटाले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा समयमै उद्धार हुन नसक्दा धेरै नागरिकले ज्यान गुमाउनुपरेको बताइन्। विपद्बाट विस्थापित नागरिकलाई समयमै उचित स्थानमा व्यवस्थापन गर्न तथा पहिरोका कारण अवरुद्ध सडक तत्काल सञ्चालन गर्न उनले सरकारको ध्यानाकर्षण गराइन्।
राहत वितरण वैज्ञानिक र आवश्यकताका आधारमा हुनुपर्नेमा जोड दिँदै देवकोटाले विपद् प्रतिरोधी संरचना निर्माणलाई तत्काल अघि बढाउन, प्रभावितका लागि विशेष पुनःस्थापना प्याकेज ल्याउन तथा विपद्बाट प्रभावित नागरिकलाई मनोसामाजिक परामर्श उपलब्ध गराउन माग गरिन्।