• Menu

मलेसियाली कम्पनी प्रोटोनद्वारा नेपाललाई २ लाख रिङ्गिट बराबरको ड्रोन सहयोग, जम्बा मोटर्सद्वारा राहत कोषमा ४ करोड प्रदान

नेपाल प्रफिट

२०८३ भदौ २४, बुधबार १५:४४

मलेसियाली कम्पनी प्रोटोनद्वारा नेपाललाई २ लाख रिङ्गिट बराबरको ड्रोन सहयोग, जम्बा मोटर्सद्वारा राहत कोषमा ४ करोड प्रदान

काठमाडौं । मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाललाई करिब दुई लाख रिङ्गिट बराबरको ड्रोन सहयोग उपलब्ध गराएको छ। हालै रसुवाको भोटेकोसीमा आएको बाढी तथा त्यसबाट प्रभावित क्षेत्रमा मानवीय सहायता र विपद् व्यवस्थापन कार्यलाई प्रभावकारी बनाउन उक्त ड्रोन नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो।

विपद्का बेला प्रभावित क्षेत्रको अवस्था तत्काल बुझ्न, उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन र सडकमार्गबाट तत्काल पुग्न कठिन वा जोखिमपूर्ण स्थानको हवाई निरीक्षण गर्न ड्रोन उपयोगी हुने प्रोटोनले जनाएको छ।

मलेसियाको राष्ट्रिय विपद् व्यवस्थापन निकाय नाड्माले सहयोगको व्यवस्थापन तथा समन्वय गरेको हो। कम्पनीका अनुसार ड्रोन सुरुमा मलेसियास्थित विशेष विपद् सहायता तथा उद्धार टोलीको मुख्यालयमा नाड्मालाई हस्तान्तरण गरिएको थियो। त्यसपछि नेपालमा खटिएको उक्त टोलीमार्फत ड्रोन नेपालसम्म ल्याउने व्यवस्था मिलाइएको थियो।

हस्तान्तरण समारोहमा प्रोटोन इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत एडमन्ड लिम मेङ थोङ तथा नाड्माका महानिर्देशक दातुक मियर इस्माइल विन मियर अकिमको उपस्थिति थियो। कार्यक्रममा मलेसियाको विदेश मन्त्रालयका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।

सो अवसरमा प्रोटोनका प्रमुख कार्यकारी अधिकृत एडमन्ड लिमले विपद्का बेला प्रभावित क्षेत्रको वास्तविक अवस्थाबारे छिटो जानकारी लिन ड्रोनले महत्वपूर्ण सहयोग पुर्‍याउने बताए। मानवीय सहायतासँगै यसले नेपालको दीर्घकालीन विपद् व्यवस्थापन क्षमता अभिवृद्धिमा समेत योगदान पुर्‍याउने उनको भनाइ थियो।

नेपालमा प्रयोग गर्नुअघि मलेसियाबाट आएको विशेष टोलीले सम्बन्धित नेपाली निकायका कर्मचारीलाई ड्रोन सञ्चालनसम्बन्धी आवश्यक तालिमसमेत दिने जनाइएको छ।

नेपालमा प्रोटोनका सवारीसाधनको आधिकारिक वितरण जम्बा मोटर्समार्फत हुँदै आएको छ। पछिल्लो समय नेपालमा प्रोटोन ब्रान्डको लोकप्रियता पनि बढ्दै गएको कम्पनीले जनाएको छ। विपद् तथा कठिन परिस्थितिमा नेपाली समुदायसँग ऐक्यबद्धता जनाउँदै स्थानीय समुदायलाई सहयोग गर्ने प्रतिबद्धता पनि प्रोटोनले दोहोर्‍याएको छ।

यसैबीच, जम्बा मोटर्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चार करोड रुपैयाँ नगद सहयोग गर्दै विपद्को समयमा नेपालप्रतिको आफ्नो प्रतिबद्धता जनाएको छ। कम्पनीले अन्य राहत तथा सहयोगका कार्यलाई समेत निरन्तरता दिइरहेको जनाएको छ।

प्रोटोन र जम्बा मोटर्सबीचको सहकार्यले चुनौतीपूर्ण समयमा नेपाली जनतासँग ऐक्यबद्धता जनाउँदै राष्ट्रिय राहत तथा पुनरुत्थानमा योगदान पुर्‍याउने साझा प्रतिबद्धतालाई थप बलियो बनाएको छ। साथै, प्रोटोन र शंकर समूहको सहकार्यले प्राकृतिक विपद्पछि ठोस प्रभाव पार्न सहयोग विस्तार गर्ने संस्थागत प्रतिबद्धतालाई समेत पुष्टि गरेको छ।