म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका-७ डाडाखेतमा १३२ केभी क्षमताको सवस्टेशन निर्माण गरिएको छ । नेपाल विद्युत प्राधिकरणले म्याग्दी नदी बेसिनमा निर्माणाधिन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रिय प्रणालीमा आवद्ध बनाउन सवस्टेशन बनाएको हो ।
५१ रोपनी क्षेत्रफलमा निर्माण भएको डाडाखेत सवस्टेशनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान भइसकेको डाडाखेत-राहुघाट प्रशारण लाइन आयोजनाका प्रमुख रोशन अग्रवालले बताए ।
‘डाडाखेत सवस्टेशनको भौतिक पूर्वाधार निर्माण र जडान भएका उपकरणको परीक्षण भएको छ,’ उनले भने, ‘डाडाखेतदेखि राहुघाट जोड्ने २५ किलोमिटर प्रशारण लाइन र राहुघाट सवबस्टेशन निर्माण अन्तिम चरणमा पुगेको छ ।’
डाडाखेतमा २०७५ साल देखि सवस्टेशनका लागि जग्गा व्यवस्थापन, घेराबार र आवास भवन निर्माण थालिएको थियो । प्रशारण लाइन र दुवै ठाउँमा सवस्टेशन निर्माणका लागि सन् २०२१ को डिसेम्वर ३१ मा तीन अर्ब ५७ करोडमा लार्सन एण्ड टुयुब्रो (एलएनटी) लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो ।
पहिलो पटकको म्याद सन् २०२५ जुलाई १६ र दोस्रो पटकको म्याद नोभेम्बर १६ सम्ममा सकिएपछि २०२६ अगस्ट १६ गते सम्मका लागि तेस्रो पटक म्याद थपिएको थियो । ठेकेदार कम्पनी एलएनटीका आयोजना ब्यवस्थापक शुभासचन्द्र शर्माले आगामी डिसेम्बरसम्म सम्पन्न गर्ने लक्ष्य सहित काम भइरहेको बताए ।
उनका अनुसार प्रशारण लाइनको क्षेत्राधिकारमा पर्ने वन क्षेत्रमा रुख कटान आदेश प्राप्त हुन भएको ढिलाइ, राहुघाट सवस्टेशन निर्माणस्थलको कमजोर भूगोल, विपद्को जोखिम र केही टावर निर्माणस्थलमा समुदायको विवादका कारणले निर्माण अवधी लम्बीएको हो ।
एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रशारण लाइनको हालसम्म ८२ वटामध्य ८० वटाको जग निर्माण र ७२ वटा टावर खडा भएका छन् । करिब १५ किलोमिटर प्रशारण लाइनको तार तान्ने काम सकिएको छ । २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सबस्टेशनमा उपकरण राख्ने र कार्यालयको भवन निर्माण अन्तिम चरणमा पुगेको छ ।
कुल ४ अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि एक अर्ब पाँच करोड विद्युत प्राधिकरण र तीन अर्ब ८२ करोड एशियाली विकास बैंकको ऋण लगानी छ ।
एशियाली विकास बैंकसँग भएको २७ मिलियन डलर ऋण सम्झौता पछिल्लो पटक बढाएर ३१ मिलियन डलर बनाइएको छ । एशियाली विकास बैंकले विद्युत प्रशारण लाइन आधुनिकीकरण परियोजनामार्फत राहुघाट-डाडाखेत प्रशारण लाइन बनाउन ऋण लगानी गरेको हो ।
म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माणाधिन छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला-राहुघाट-मङ्गले, ४८ मेगावाटको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठुलोखोला र २३.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत आयोजनाले उत्पादन थालेका छन् ।
४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना परीक्षण उत्पादनको तयारीमा छ । तुदी पावरले बनाएको चिमखोला-राहुघाट-मङ्गले र संयुक्त ऊर्जाको ठूलोखोला जलविद्युत आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रशारण लाइनमा विद्युत आपुर्ति गराएका तुदी पावरका आयोजना प्रमुख इन्द्र ढकालले बताए ।