काठमाडौं । साताको कारोबारको तेस्रो दिन बुधबार सेयर बजार परिसूचक नेप्से १५.४४ अंकले बढेको छ । अघिल्लो दिन नेप्से ९.२४ अंकले बढेको थियो। बुधबारको वृद्धिसँगै नेप्से परिसूचक २ हजार ५३८ अंकमा पुगेको छ ।
बुधबार कारोबार रकम पनि सामान्य बढेको छ। मंगलबार २ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार २ अर्ब ९४ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
कुल २७८ कम्पनीमध्ये १९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७५ कम्पनीको घटेको छ। १० कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
कारोबारमा आएका सबै समूहगत सूचकमा १ प्रतिशतभन्दा कम उतारचढाव देखिएको छ। बैंकिङ समूह ०.७३ प्रतिशत, विकास बैंक ०.५९, वित्त ०.९१, होटल तथा पर्यटन ०.१८, जलविद्युत ०.९५, लगानी ०.४१, जीवन बिमा ०.०९, उत्पादन तथा प्रशोधन ०.४८, लघुवित्त ०.४३, अन्य ०.८० तथा व्यापार समूह ०.७२ प्रतिशतले बढेका छन्। निर्जीवन बिमा समूह भने ०.०७ प्रतिशतले घटेको छ।
बुधबार उपकार लघुवित्तको सेयर मूल्य सर्वाधिक ११.८७ प्रतिशतले बढेको छ। माथिल्लो मैलुङखोलाको १०.२३ प्रतिशत, आत्मनिर्भर लघुवित्तको १०.१०, सेन्ट्रल फाइनान्सको ९.११, रसुवागढी हाइड्रोपावरको ५.९९ तथा मायाखोला हाइड्रोपावरको सेयर मूल्य ५.९३ प्रतिशतले बढेको छ।
त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य ३.६५ प्रतिशत, मानुसी लघुवित्तको ३.२८ प्रतिशत तथा एसियन हाइड्रोपावरको २.६८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा सानिमा मिडिल तमोर, एनआरएन इन्फ्रास्ट्रक्चर, सोलु हाइड्रोपावर, शिवम् सिमेन्ट, साहस ऊर्जा र रिडी पावर अगाडि रहेका छन्।