काठमाडौं । काठमाडौं-हेटौंटा जोड्ने पृथ्वी राजमार्गमा त्रिशूली नदीको कटानका कारण आवागमन प्रभावित भएपछि साना, ठूला तथा मालवाहक सवारीका लागि वैकल्पिक मार्ग र नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा वर्षा र सडकको अवस्थालाई ध्यानमा राख्दै नयाँ रुट निर्धारण गरिएको हो।
ट्राफिक प्रहरीका अनुसार काठमाडौंबाट हेटौंडातर्फ जाने साना सवारी फर्पिङ-फाखेल-कुलेखानी-भीमफेदी हुँदै जानुपर्नेछ। हेटौंडाबाट काठमाडौं आउने साना सवारीले भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली हुँदै काठमाडौं प्रवेश गर्नुपर्नेछ।
त्यस्तै, ठूला तथा मालवाहक सवारी काठमाडौंबाट चापागाउँ-भट्टेडाँडा-ठिङ्गन हुँदै हेटौंडा जानुपर्नेछ। यो मार्ग प्रयोग गर्ने सवारीले साँझ ६ बजेसम्म ठिङ्गन जाँच चौकी पार गरिसक्नुपर्ने व्यवस्था गरिएको छ।
हेटौँडाबाट काठमाडौं आउने ठूला तथा मालवाहक सवारीका लागि भैँसे-पालुङ-टिस्टुङ-नौबिसे मार्ग तोकिएको छ।
मकवानपुरको त्रिखण्डीनजिक रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर भएकाले इन्धन बोकेका ट्यांकर तथा भारी मालवाहक सवारीलाई उक्त पुल प्रयोग नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ। यस्ता सवारीलाई बेलिब्रिजको छेउमा रहेको डाइभर्सन प्रयोग गर्न निर्देशन दिइएको छ।