काठमाडौं । लगातार ६ कारोबार दिन घटेको सेयर बजार मंगलबार भने बढेको छ । आज नेप्से परिसूचक ९.२४ अंकले बढेर २ हजार ५२२ अंकमा पुगेको हो ।
कारोबार रकम भने घटेको छ । सोमबार ३ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा मंगलबार २ अर्ब ८९ करोड रुपैयाँमा सीमित भएको छ ।
आज कुल २७७ कम्पनीको कारोबार हुँदा १८२ कम्पनीको सेयर मूल्य बढेको छ । ८४ कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
गत बुधबार गएको भीषण बाढीपछि पछिल्ला कारोबार दिनमा दबाबमा रहेका समूहसमेत मंगलबार सकारात्मक देखिएका छन् । जलविद्युत् समूह सबैभन्दा धेरै १.०१ प्रतिशतले बढेको छ ।
उत्पादन तथा प्रशोधन समूह भने १ प्रतिशतले घटेको छ । उक्त समूहबाहेक सबै समूहगत सूचक बढेका छन् ।
बैंकिङ समूह ०.१८ प्रतिशत, विकास बैंक ०.११, वित्त ०.२५, होटल तथा पर्यटन ०.६६, लगानी ०.६१, जीवन बिमा ०.८९, लघुवित्त०.०५, निर्जीवन बिमा ०.८७, अन्य ०.५४ तथा व्यापार समूह ०.१० प्रतिशतले बढेका छन् ।
माथिल्लो मैलुङ खोलाको सेयर मूल्य सर्वाधिक बढ्यो
आज माथिल्लो मैलुङ खोला जलविद्युत कम्पनीको सेयर मूल्य सबैभन्दा धेरै ७.१५ प्रतिशतले बढेको छ । इमर्जिङ नेपालको ४.८५ प्रतिशत, सान्जेन जलविद्युतको ३.८१ प्रतिशत, मेन्छियाम हाइड्रोपावरको ३.६९ प्रतिशत तथा मान्डु हाइड्रोपावरको ३.६१ प्रतिशतले मूल्य बढेको छ ।
उपकार लघुवित्तको सेयर मूल्य भने सबैभन्दा धेरै ८.४८ प्रतिशतले घटेको छ । घोराही सिमेन्टको ५.५३ प्रतिशत, सीवाईसी लघुवित्तको ५.३९ प्रतिशत तथा भगवती हाइड्रोपावरको ५.२७ प्रतिशतले मूल्य घटेको छ ।
सोलु हाइड्रोपावरको सर्वाधिक कारोबार
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर अगाडि रहेको छ । त्यसपछि शिवम् सिमेन्ट, आँखुखोला जलविद्युत, रिडी पावर, सानिमा मिडिल तमोर र चिलिमे हाइड्रोपावर क्रमशः धेरै कारोबार हुने कम्पनीमा परेका छन् ।
बाढीपछि निरन्तर दबाबमा परेको बजारमा मंगलबार देखिएको सुधारले लगानीकर्तामा केही सकारात्मक संकेत देखिएको छ । यद्यपि कारोबार रकम घटेकाले बजारमा लगानीकर्ताको सक्रियता अझै अपेक्षाकृत कमजोर रहेको देखिन्छ ।